Pokharapatra National Daily

बालिका तथा किशोरी अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री अधिकारी

किशोरीहरुको सशक्तिकरण र विकासको लागि गण्डकी प्रदेश सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री खगराज अधिकारीले बताउनुभएको छ ।
प्रदेशको कान्छो जिल्ला नवलपुरबाट ध्यानाकर्षण पत्र हस्तान्तरण गर्न पोखरा आएका किशोरीहरुसँग मुख्यमन्त्री कार्यालयमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा सोमबार अधिकारीले सो धारणा व्यक्त गरेका हुन ।
नवलपुरमा जागृति बाल तथा युवा सरोकार नेपालले क्यान्नालन स्विजरल्याण्डसँगको साझेदारीमा सञ्चालित किशोरी सशक्तिकरण कार्यक्रमका ३५ जना किशोरीहरुले आफुहरुले काम गर्दा आएका विभिन्न विषयहरुलाई ध्यानाकर्षण गराउनको लागि पोखरा आएका हुन् । किशोरीहरुले मुख्यमन्त्रीलाई प्रदेश सरकारले बालिकाहरुको लागि गरिदिनुपर्ने कामहरुको बारेमा २५ बुँदे ध्यानाकर्षण पत्र हस्तान्तरण गरेका हुन् । ध्यानाकर्षण पत्रमा विशेषगरी बालिकाहरुको लागि आवश्यक पर्ने विभिन्न विषयहरुको बारेमा स्वयम् किशोरीहरुले नै तयार गरेर हस्तान्तरण गरिएको किशोरी अभियन्ता सवनम सुनारले बताउनुभयो । ध्यानाकर्षण पत्रमा बालमैत्री, किशोरीमैत्री, अपाङ्गतामैत्री पूर्वाधारहरु र संरचनाहरुको निर्माण गरिनुपने, प्रदेश तहमा बन्ने हरेक समितिहरुमा बालिकाको मुद्दा हेर्ने विशेष उपसमिति बनाउनुपर्ने, विद्यालयहरुमा सेनिटरी प्याडको गुणस्तर र विसर्जन जस्ता विषयहरु समावेश गरिएको किशोरी अभियन्ता एवम जिल्ला बालक्लव सञ्जाल नवलपुरकी सचिव आशिका पोख्रेलले जानकारी दिनुभयो । बालिकाहरुको भ्रुणबाट नै असुरक्षित रहने र जन्मेपछी पनि विभिन्न बहानामा हिंसा, दुव्र्यवहार र शोषणमा पर्ने भएकोले यस्ता समस्या समाधानको लागि प्रदेश सरकारले नीतिगत व्यवस्था गर्दै स्थानीय तहसम्म कार्यान्वयनमा बालिकाहरुले जोड दिएका छन् ।
ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री खगराज अधिकारीले सबैभन्दा पहिले बालिकाहरुले स्वयम् आफुलाई नै विश्वास गर्नुपर्ने बताउनुभयो । वर्तमान समयका किशोरकिशोरीहरु नै भविष्य भएकोले प्रदेश सरकारले यिनै बालबालिकाहरु र किशोरकिशोरीहरुको लागि नीतिगत व्यवस्थाहरु सुरु गरेको, पाठ्यक्रमबाट नै आत्म सुरक्षा र देशलाई माया गर्नुपर्दछ भन्ने भावना जागृत गराउने अभियानहरु समेत सुरु गर्न लागेको बताउनुभयो ।
साथै मुख्यमन्त्री अधिकारीले देश निर्माणको लागि र सामाजिक न्यायको लागि अहिलेका किशोरकिशोरीहरुले देशमा नै बसेर कामहरु गर्नुपर्ने र रचनात्मक हुन समेत सुझाव दिनुभयो । साथै किशोरीहरुले प्रस्तुत गरेका मागहरुलाई आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने गरी योजना निर्माण गर्ने समेत प्रतिबद्धता जाहेर गर्नुभयो ।
हस्तान्तरण समारोहमा बोल्दै गण्डकी प्रदेश सभा सदस्य पद्मा जिसीले किशोरीहरुका मागहरु र सवालहरु वर्तमान समयमा समय सापेक्ष रहेकोले प्रदेश संसद भित्र र बाहिर निरन्तर खबरदारी र वकालत गरेर समस्याहरुको समाधान गर्ने र नीतिगत व्यवस्थाहरुको निर्माणमा लाग्ने प्रतिबद्धता समेत जाहेर गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण संस्थाका अध्यक्ष तिलोत्तम पौडेलले गर्नुभएको थियो भने किशोरी अभियन्ताहरु रेजिना घर्तीमगर र मान्सु न्यौपानेले समेत कार्यक्रममा स्थानीय तहमा रहेका किशोरीका सवालाहरुलाई प्रस्तुत गरेका थिए ।

प्रतिकृया दिनुहोस्