Pokharapatra National Daily

पोखरा लिङकन इन्टरनेश्नल कलेजमा एमबिए कक्षा सुरु हुने

पोखराको सिमलचौरमा रहेको पोखरा लिङकन इन्टरनेश्नल कलेजमा एम.बि.ए. को कक्षा सुरु हुने भएको छ ।
समयको माग अनुसार विगत १२ बर्ष अघि स्नातक तहमा बि.बि.ए. र बि. एच.एम को पठन पाठन गर्दै आएको उक्त कलेजले यसै शैक्षिक सत्र देखि एम.बि.ए.(मास्टर इन विज्नेस एड्मिनेष्ट्रेशन) को कक्षा समेत संचालन गर्ने भएको आइतबार कलेजमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
समयको माग अनुसार विगत १२ बर्ष अघि स्नातक तहमा बि.बि.ए. र बि.एच.एम को पठन पाठन गर्दै आएको उक्त कलेजले यसै शैक्षिक सत्र देखि एम.बि.ए. सुरु गर्न लागेको पोखरा लिङकन इन्टरनेश्नल कलेजका अध्यक्ष शेर बहादुर गुरुङले बताए । पेशागत दक्षता र क्षमता अभिबृद्धि, प्रतिष्प्रर्धी जनशक्ति उत्पादन गर्न तथा आफ्नै घरमा बसेर पनि अन्तराष्ट्रिय स्तरको शिक्षा प्रदान गर्न आफुहरुले मलेसियाको लिङकन विश्वबिद्यालयसंगको सम्बन्धन प्राप्त गरी कक्षा संचालन गर्ने अन्तिम तयारी गरिएको अध्यक्ष गुरुङले जनाए । पहिलो व्याचमा अधिकत्तम ३० जनासम्म नयाँ बर्षबाट सुरु गरिने उक्त कोर्षको अध्ययन भने सबैको पाइक पर्ने समय बेलुका ५ः३० देखि ८ः३० बजेसम्म गरी ३ घण्टा हुने भएको उनले बताए ।
२ बर्षीय अर्थात ४ सेमेस्टरमा हुने उक्त कोर्ष अध्ययन गर्ने बिद्यार्थीहरुको बजारमा अत्याधिक माग भएकोले उनीहरु बेरोजगार बस्न नपर्ने अध्यक्ष गुरुङको भनाई छ । विश्वबिद्यालयका कार्यक्रमलाई सिफ्ट, समय र प्रविधिले कतिपय बिद्यार्थीहरुको मागलाई सम्बोधन गर्न नसकेको अबस्थामा कलेजले त्यसलाई उचित ढंगले व्यबस्थापन गर्ने र बिद्यार्थीहरुको लागि उचित ढंगले पठन पाठनको व्यबस्था गर्ने भएको कलेजका एकेडेमीक प्रमुख अनिल अर्यालले बताए । बिद्यार्थीहरु भौतिक रुपमा कक्षामा उपस्थित हुन नसकेको खण्डमा समेत स्मार्ट प्रविधिको प्रयोगमा कक्षा लिन सकिने भएको उनले जनाए । बैंक, वित्तिय संस्था नेपाल सरकारका कर्मचारी, कुनै फार्म वा व्यावसायमा संलग्न भएकहरुको लागि उपयुक्त समयमा बेलुका कक्षा संचालन गरिने भएको प्रमुख अर्यालले बताए । बेलुका कक्षा संचालन गरिने भएकोले आफुहरुले अपेक्षा गरे भन्दा बढीको माग हुने उनले विश्वास व्यक्त गरे । उच्च शिक्षा र मास्टर्ससम्मको शिक्षा हासिल गर्न विदेशीने युवाहरुलाई स्वदेशमै अन्तराष्ट्रिय स्तरको शिक्षा दिने उद्धेश्यले आफुहरुले सानो प्रयास गरिएको अध्यक्ष गुरुङले बताए । कलेजले मलेसिया, चाइना, दुबई लगायतका देशहरुमा समेत इन्टनशिप गर्ने गरेको कलेजकी संस्थापक पम्फा गुरुङले बताइन्। दुई बर्षीय उक्त कोर्ष पूरा गर्न करिब ४ लाख ६५ हजार शुल्क लाग्ने भएको छ भने २५ हजार रुपैया धरौटी स्वरुप उक्त कोर्ष सकिए लगतै फिर्ता हुने भएको छ । कार्यक्रममा बोल्दै प्रा.डा.यादव शर्मा गौडेलले नेपालमा अन्तराष्ट्रिय स्तरको पठन पाठन गर्न सके शिक्षाको नाममा विदेशीने नेपालको ठुलो रकम स्वदेशमै खर्च हुने बताए । सुरुमा केही लगानी बढी भए पनि पछि यसको प्रभाव सकरात्मक हुने उनले जनाए ।
उक्त कलेजको आफ्नै भवन, पर्याप्त खेलमैदान, समय समयमा विज्ञहरुको आगमन हुने भएको कलेजका वोर्ड सदस्य डा. भिमनाथ बरालले बताए । २०३९ सालमा पोखरा १ बगरबाट लिटिल स्टेप बिद्यालयको शुभारम्भ भएको स्मरण गर्दै अध्यक्ष शेर बहादुर गुरुङले २०५५÷०५६ मा प्लस टु तर्फ विज्ञान र व्यबस्थापन बिषयको कक्षा संचालन गरेसंगै २०६४ सालबाट होटल म्यानेजमेन्टको समेत पठन पाठन हुदै आएको बताए । विश्व व्यापीकरणले गर्दा मलेसियाको लिङकन विश्वबिद्यालयबाट सम्बन्धन लिई उक्त कलेजले सन् २०१२ देखि स्नातकतहमा वि.वि.ए र वि. एच. एम. को पठन पाठन गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्