Pokharapatra National Daily

पाटा बार्षिक शिखर सम्मेलन तथा एडभेन्चर मार्ट पोखरामा हुने

प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) को वार्षिक शिखर सम्मेलन पोखरामा हुने भएको छ । आगामी मे २९ देखि जुन १ (जेठ १५ देखि १८ गते) सम्म पोखरा र समग्र नेपालको पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्यले उक्त सम्मेलन नेपालमै पहिलो पटक र तेश्रो संस्करणको एडभेन्चर मार्ट समेत हुने भएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
नेपालको मुख्य पर्यटकीय स्थल पोखरामा हुने उक्त कार्यक्रमले हाल कोभिड—१९ र आर्थिक मन्दिको प्रभावलाई केही हदसम्म चलायमान बनाउन मद्धत पुग्ने नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मीले बताए । उनले भने “कोभिड–१९ पछि प्रभावित भएको नेपालको समग्र पर्यटन क्षेत्र र मुख्यगरी गण्डकी प्रदेश र प्रदेश राजधानी पोखराको पर्यटनका लागि मार्ट र शिखर सम्मेलन कोसेढुङ्गा हुने सावित हुने छ ।”
करिब १५ देशका ३ सय भन्दा बढी अन्तराष्ट्रिय प्रतिनिधि सहभागिा हुने उक्त कार्यक्रमले नेपाली तथा अन्तर्राष्ट्रिय व्यापारलाई एउटै प्लेटफर्ममा भेला हुने र काम गर्ने अवसर प्रदान गर्ने उनले विश्वास व्यक्त गरे । उक्त कार्यक्रम पोखरामा भव्य रुपमा सम्पन्न गर्दा नेपालको पर्यटनमा थप माइलेज बढ्ने उनले दाबी गरे । यस्ता कृयाकलापले पर्यटक आगमनमा सन् २०२३ को अन्त्यसम्ममा नेपालको पर्यटन कोभिड–१९ पूर्वको अवस्थामा पुग्न सकिने कार्यकारी प्रमुख डा.रेग्मीले बताए ।
एडभेन्चर मार्टमा विश्वभरका तीन सय अन्तर्राष्ट्रिय प्रतिनिधिको सहभागितामा उक्त कार्यक्रम पोखरामा हुनुले पोखरा सहित नेपालको समग्र पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने पाटाका इन्टरनेसनलका सचिव सुमन पाण्डेले बताए । प्रकृति र संस्कृतिको धनि पोखरामा उक्त कार्यक्रमको अवसरमा पर्यटन प्रबद्र्धन, दिगो पर्यटन, सङ्कट व्यवस्थापन, हवाई सुरक्षा, साहसिक खेल प्रबद्र्धन, पर्वतीय पर्यटन, सामाजिक संजाल लगायतका विषयमा गहन छलफल हुने भएको उनले जनाए । पोखरा महानगरपालिका मेयर धनराज आचार्यले उक्त कार्यक्रमले पोखरामा पर्यटन प्रबद्र्धन गर्ने हुदा आवश्यक सहयोग गर्ने बताए । पोखरालाई स्थानिय तह पोखरा महानगर र प्रदेश सरकार गण्डकी प्रदेशले पर्यटनको राजधानिको रुपमा मान्दै आए पछि संघ सरकारले घोषणा गर्न ढिला गरेको गुनासो गर्दै मेयर आचार्यले अब स्थानिय रुपमा उक्त घोषणा सहित पर्यटन प्रबद्र्धनमा लाग्ने समय आएको बताए । पोखरामा अन्तराष्ट्रिय सभा सम्मेलन गर्नको लागि आगामी २ बर्ष भित्र पूरा हुने गरी १ अर्ब ६५ करोडको लागतमा २ हजार ५ सय सिट क्षमताको सभाहल निर्माणको प्रकृयामा रहेको उनले बताए । पोखरामा रात्रिकालीन हवाई उडान सुरु भएसंगै पर्यटन आगमनमा केही बृद्धि भएको मेयर आचार्यको भनाई छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका निर्देशक काशीराम भण्डारीले पाटाको उक्त कार्यक्रम पश्चात नेपालको पर्यटन सन् २०१९÷०२० को अबस्थामा पुग्ने विश्वास व्यक्त गरे । उक्त कार्यक्रममा प्रसिद्ध ब्लगरहरुको समेत सहभगिता हुने कार्यक्रम पछि लुम्बिनी, चितवन, बर्दिया, जोमसोम लगायतकाठाँउमा अध्ययन अवलोकन तथा भ्रमण गर्ने कार्यक्रम तय गरिएको पोखरा पर्यटन परिषदका महासचिव संजयकान्त सिग्देलले जनाए । पहिलो पटक नेपाल सरकार, पर्यटन बोर्ड तथा पाटाको मुख्य आयोजनामा हुने कार्यक्रमको स्थानीय संयोजन पोखरा परिषद्ले गर्ने भएको कार्यवहाक अध्यक्ष कृष्ण भण्डारीले बताए । शिखर सम्मेलनका लागि नेपाल पर्यटन बोर्डका अध्यक्ष समेत रहेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको र समितिमा पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घसंस्था सदस्यको रुपमा रहेको कार्यकारी प्रमुख डा.रेग्मीले बताए । नेपालले सन् १९७५ मा पाटा इन्टरनेसनलको सदस्यता लिएको थियो ।

प्रतिकृया दिनुहोस्