Pokharapatra National Daily

पोखरामा चितुवाको आक्रमणमा परी दुई युवा घाइते

पोखरामा चितुवाको आक्रमणमा परी दुई जना युवा घाइते भएका छन् । घाइते हुनेहरुमा कास्कीको रुपा गाउँपालिका–४ निवासी २८ वर्षीय श्रीकृष्ण मल्ल ठकुरी र पोखरा १८ का ३२ वर्षीय राजु तिमिल्सिना रहेका छन् ।
घाइते दुबै जना खतरामुक्त भएको मेट्रोसिटि अस्पताल श्रोतले जनाएको छ । चितुवाको आक्रमणमा परी तिमिल्सिनाको गाला, निधार र टाउकोमा चोट लागेको छ भने ठकुरीको ढाड र हातमा सामान्य चोट लागेको स्थानियले बताए । तिमिल्सिनाको टाका समेत लगाइएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर १८ भकुण्डेस्थित तुल्सी कुन्ज इको एण्ड वेल भिलेज कालिज फार्ममा अचानक छिरेको कालिज बिहान दुई जना कामदारलाई झम्टेसंगै केही घण्टामै मृत अबस्थामा भेटिएको फार्म संचालक मध्यका एक धुर्व थापाले बताए । हावाहुरीका कारण कालिज फार्म नजिक एक स्थानमा बाँस ढल्केको कारण त्यस ठाँउबाट चितुवा मंगलबार राति नै कालिज फार्ममा पसेको हुन सक्ने उनले बताए । बुधबार बिहान ५ः०० बजे फार्म भित्र चितुवा छिरेको देखेसंगै आफुहरुले नेपाल प्रहरी, डिभिजन वन कार्यालय कास्की लगायतका निकायमा जानकारी गराएर चितुवा खोजि गर्दा आफ्नो फार्ममै मरेको अबस्थामा चितुवा भेटिएको संचालक थापाले बताए । चितुवा कसरी म¥यो त भन्ने हाम्रो प्रश्नमा संचालक थापाले चितुवा फार्मबाट बाहिर भाग्ने क्रममा पर्खालमा ठोकिएर मरेको हुन सक्ने प्रतिकृया दिए । तर चितुवाको शारीरमा भने कुनै घाउ तथा चोट पटक नभएको प्रहरीले जनाएको छ । कालिज फार्ममा पसेको चितुवाले दुई जना कामदारलाई झम्टेसंगै उक्त चितुवा मृत अबस्थामा भेटिनु रहस्यमय चितुवाको मृत्यु भएको वडा प्रहरी कार्यालय बैदामका डीएसपी वेद प्रसाद जोशीले बताए । मृत अबस्थामा भेटिएको चितुवा डिभिजन वन कार्यालयले थप अनुसनधानको लागि लगेको छ । डिभिजन वन कार्यालय कास्कीका सूचना अधिकारी शालिकराम पराजुलीले मानिसलाई आक्रमण गरेको चितुवा एकाएक मृत अबस्थामा भेटिनु अनौठो भएको बताए । आफ्नो ३२ वर्ष जागिरको शिलशिलामा यस्तो घटना थाहा नपाएको उनले बताए । चितुवाको शव पोष्टमार्टमको लागि भेटेरेनरी अस्पतालमा लगेकोले त्यसको रिपोर्ट आएपछि मात्र मृत्युको कारण पक्ता लाग्न सक्ने सूचना अधिकारी पराजुलीले बताए । स्थानीय, प्रहरी र वन कार्यालयको सहितको टोलीले चितुवा खोजि गर्दा कालिज फार्मको झाडीमा मरेको अबस्थामा भेटिएको प्रहरीले जनाएको छ । पोखरामा पनि केही समयदेखि चितुवाको आतंक बढ्न थालेको छ ।

प्रतिकृया दिनुहोस्