Pokharapatra National Daily

संविधान विरोधी शक्तिसँग होसियार रहनुपर्छः प्रदेश प्रमुख गुरुङ

गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले अहिलेको संविधानमाथि औँला ठड्याउने र असहिष्णुता दर्शाउने शक्तिहरूसँग होसियार रहनुपर्ने बताउनुभएको छ ।
पोखरा महानगरपालिकाको सातौँ स्थापना दिवस समारोहलाई आइतबार सम्बोधन गर्दै उहाँले राजनीतिक दल र जनप्रतिनिधिले जनअपेक्षाअनुसार काम गर्न नसकेकाले एकथरी मानिस संविधान नै फेर्नुपर्छ भनेर लागिरेहेको उल्लेख गर्नुभयो ।
“संविधानप्रति वफादार रहेर हामीले सपथ खाएका छौँ, संविधानको रक्षाका लागि जुनसुकै मूल्य चुकाउन तयार छौँ भनेर वाचा गरेका छौँ, यो विषयमा हामी सधँै चनाखो र सचेत रहनुपर्छ”, प्रदेश प्रमुख गुरुङले भन्नुभयो ।
संविधानले निर्दिष्ट गरेबमोजिम जनताको विश्वास जितेर काम गर्न नसकेमा अहिलेको व्यवस्था र संविधान विरोधी भावना अझ मौलाएर जाने उहाँको भनाइ छ । “हाम्रो आचरण, चरित्र जनताले हेरिरहेको छन्, बोली र व्यवहारमा हामी स्पष्ट र दृढ हुनुपर्छ”, प्रदेश प्रमुख गुरुङले भन्नुभयो । जनताको अपेक्षा बढी भएको उल्लेख गर्दै उहाँले स्थानीय तहले स्रोतसाधनको अधिकतम उपयोग गर्ने गरी योजनाबद्ध विकासको खाका ल्याउनुपर्ने बताउनुभयो ।
प्रदेश प्रमुख गुरुङले पोखरा महानगरको विकास, प्रगति र उन्नतिसँग देशकै भाग्य र भविष्य जोडिएको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्