Pokharapatra National Daily

महिला दिवसमा हस्तकला प्रदर्शनी

पोखरास्थित महिला सीप विकास संस्थाले ११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा बुधबार हस्तकला प्रदर्शनीको आयोजना ग¥यो । सभागृहमा आयोजित प्रदर्शनीलाई स्वदेशी तथा विदेशी नागरिकले चाखपूवर्क अवलोकन गरे ।
विसं २०३२ मा महिला दिवसकै दिन स्थापना भएको सो संस्थाले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई विशेषरूपमा मनाउँदै आएको छ । संस्थामा आबद्ध महिला उद्यमीले तयार पारेका हस्तकलाका सामग्री प्रदर्शनीमा राखिएको थियो । संस्थाले हस्तकलाका सामान उत्पादन र बिक्रीवितरण गर्दै आएको छ । महिलाको आर्थिक उत्थान र रोजगारी सिर्जना गर्ने उद्देश्यले ४७ वर्षअघि उक्त संस्था स्थापना गरिएको थियो । हालसम्म २१ हजार महिलालाई हस्तकला सीप प्रदान गरिएको संस्थाका कार्यकारी निर्देशक रामकली खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार हाल संस्थामा तीन सय ५० उद्यमी महिला आबद्ध छन् । संस्थाद्वारा सञ्चालित उद्योगमा धागो, अल्लो, हेम, ऊन, मकैको खोस्टालगायत स्थानीय कच्चापदार्थको प्रयोग गरेर सामान उत्पादन गर्दै आएको छ । “यहाँ उत्पादित सामान अमेरिका, इटाली, जर्मनीलगायतका देशमा निर्यात हुँदै आएको छ”, कार्यकारी निर्देशक खड्काले भन्नुभयो, “कोभिड–१९ पछि हस्तकला व्यापार केही खस्केको छ, उद्यममा लाग्ने महिलाको सङ्ख्या पनि घटेको छ ।” पहिले उक्त संस्थामा छ सय उद्यमी महिला आबद्ध थिए । संस्थाको अन्तर्राष्ट्रिय बजार हेर्ने रश्मी शाक्यले वार्षिक रु दुई करोड बराबरको सामान विदेश निर्यात हुने गरेको बताउनुभयो । नेपाली बजारमा भने उत्पादनको २० प्रतिशत सामान मात्र खपत हुने उहाँको भनाइ छ । “हस्तकलाको सामान महँगो पर्ने भएकाले नेपाली ग्राहकको पहुँचमा खासै पर्दैन, पर्यटकीय क्षेत्र लेकसाइड, ठमेल जस्ता ठाउँमा बढी बिक्री हुन्छ”, शाक्यले भन्नुभयो । हस्तकला प्रदर्शनी बेलायत, भारतलगायतका देशमा पनि गर्ने तयारी भइरहेको संस्थाले जनाएको छ । उक्त संस्थाले सहकारी र शिशु स्याहार केन्द्र पनि सञ्चालनमा ल्याएको छ । सो अवसरमा उद्यमी, पत्रकारलगायत सम्मानसमेत गरिएको थियो । प्रदर्शनीको उद्घाटन पोखरा महानगरका प्रमुख धनराज आचार्यले गर्नुभएको थियो । ‘लैङ्गिक समानताको बलियो आधार ः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने सङ्कल्पका साथ आज अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस मनाइएको छ ।

प्रतिकृया दिनुहोस्