Pokharapatra National Daily

त्रिशुली किनारमा अब प्याराग्लाईडिङ गर्न पाइने

विभिन्न पहाडी क्षेत्रका डाँडा र शहर क्षेत्रमा प्याराग्लाईडिङ हुदै आए पनि अब भने त्रिशुली नदी माथिको आकाशमा समेत प्याराग्लाईडिङ गर्न पाइने भएको छ । हिमालय फन्टियर्स प्याराग्लाईडिङ कम्पनीले अब त्रिशुलीबाट समेत प्याराग्लाईडिङ गर्ने व्यबस्था मिलाएको छ ।
विगत केही बर्ष देखि पोखरा क्षेत्रमा व्यवसायीक प्याराग्लाईडिङ गर्दै आएको हिमालय फन्टियर्सले अब उक्त क्षेत्रमा प्याराग्लाईडिङ गर्ने अनुमति प्राप्त गरेसंगै आउँदो चैत १५ गते देखि भने व्यवसायीक (टेण्डम) उडान गर्ने भएको हो । दासढुंगा, कविलास, त्रिशुली नदी, चौकी डाँडा लगायतको क्षेत्रको आकाशमा हावासंग कावा खादै अब पर्यटकहरुले प्याराग्लाईडिङ गर्न पाउने भएको हिमालय फन्टियर्स प्याराग्लाईडिङ कम्पनीका संचालक शैसेन्द्र राउतले बताए । प्रधान कार्यालय पोखरा रहने गरी आफ्नो शाखाको रुपमा त्रिशुलीमा उक्त कार्यालय रहे पनि कम्पनीले पोखरामा ६ र त्रिशुली नदी क्षेत्रमा १० पाइ्लटको समेत अनुमति प्राप्त गरेको संचालक राउतले बताए ।
आफुहरुले विगत एक बर्ष देखि उक्त क्षेत्रमा प्याराग्लाईडिङको सम्भावना देखेर परिक्षण उडान देखि आवश्यक तयारी गरिएको उनले जनाए । केही समय पछि उक्त क्षेत्रबाटै आकाश, जल र जमिनमा खेल्न मिल्ने सहासिक तीन खेलको त्रिवेर्णीको रुपमा विकास गर्न आफुहरुले खोजेको संचालक राउतले जनाए ।
समुद्री सतह देखि १ हजार ८० मिटरको उचाईमा रहेको चितवन भरतपुर महानगरपालिका २९ को प्याराग्लाइडिङ उडान गर्ने चौकीडाँडाबाट करिब ६ किलोमटिर तल्लो भेग त्रिशुली नदी किनारामा पर्दछ ।
हाल पोखरामा प्याराग्लाईडिङ गरेको प्रति व्यक्ति ८ हजार रुपैया तिर्नुपर्न हुन्छ भने त्रिशुली क्षेत्रमा प्याराग्लाईडिङ गर्दा भने करिब ६ हजार तिरे पुग्छ । सौराह आउने पर्यटकहरुको लागि र पूर्व, पश्चिम तथा चितवन पोखरा, चितवन काठमाण्डौं जाने सडक खण्ड चितवन मुग्लिङ सडकखण्डको राजमार्गमा पर्ने भएकोले गर्दा साहासिक पर्यटकहरुको राम्रो गन्तव्य नै हुने राउतले विश्वास लिएका छन।
नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले चौकीडाँडा देखि एक नटिकल माइल (१.८५ किलोमिटर रेडिएस) मा प्याराग्लाईडिङ गर्न उक्त कम्पनीलाइ अनुमति दिएको बताइन्छ । कम्पनीले उक्त प्याराग्लाईडिङ गर्दा सुरक्षा र सेफ्टीको हिसावले त्रिशुली नदी किनारा र हरियो वन जंगल भएकोले त्यसलाई उचित ढंगले प्रयोग गर्ने भएको छ ।

प्रतिकृया दिनुहोस्