Pokharapatra National Daily

‘पर्यटन क्षेत्रको उत्थानका लागि राज्यले लगानी बढाउनुपर्छ’

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशम जुग्जालीले पर्यटन क्षेत्रको उत्थानका लागि राज्यले लगानी बढाउनुपर्ने बताउनुभएको छ ।
मन्त्रालयद्वारा मंगलबार आयोजित प्रगति समीक्षा कार्यक्रममा उहाँले समृद्ध गण्डकीको पहिलो आधारका रुपमा पर्यटनलाई लिइए पनि बजेटको प्राथमिकतामा नपरेको बताउनुभयो । ‘कूल बजेटको एक दशमलव ६८ प्रतिशत मात्र पर्यटनमा छ, यो क्षेत्र हेलामा परेको छ’, उहाँले भन्नुभयो, ‘समृद्धिको आधार पनि भन्ने अनि यति थोरै बजेटले पर्यटन कसरी उकासिन्छ ।’ मन्त्री जुग्जालीले जिल्ला तहमा रहेका पर्यटन तथा उद्योग कार्यालय पनि भौतिक पूर्वाधार र जनशक्तिको अभावबाट गुज्रिरहेको बताउनुभयो । आफू भर्खर मात्र मन्त्रालयको जिम्मेवारीमा आएको जनाउँदै उहाँले स्रोतसाधन र जनशक्ति व्यवस्थापनमा सक्दो पहल गर्ने बताउनभुयो । पर्यटन क्षेत्र बजेटको कम प्राथमिकतामा पर्नुको कारणबारे समीक्षा हुनुपर्ने उहाँको भनाइ छ । ‘पहिले घरबासका लागि रु ३० करोड बजेट छुट्टाइएकामा अहिले किन एक करोडमा झ¥यो अब हामीले यसमा पनि छलफल गर्नुपर्र्छ, कार्यक्रमका उपलब्धि के रहे समीक्षा गरौँ’, उहाँले भन्नुभयो, ‘योजना कार्यान्वयनमा समस्या छन् भने कार्यविधि बदलौँ बरु योजनाको संख्या घटाऔँ तर परिणाममुखी काममा बढी जोड दिऔँ ।’ उहाँले न्यून जनशक्ति र स्रोतसाधनका बाबजुत मातहातका कार्यालयबाट भएको कार्यसम्पादन सन्तोषजनक रहेको बताउनुभयो । उहाँले कसैको दबाब र प्रभावमा नपरी निर्धक्क भएर कार्यक्षेत्रमा खट्न कर्मचारीलाई आग्रह गर्नुभयो ।

प्रतिकृया दिनुहोस्