चीनले यही माघ छ गते आफ्ना नागरिकका लागि सार्वजनिक गरेको गन्तव्य राष्ट्रको सूचीमा नेपाललाई पनि समावेश गर्न आग्रह गर्दै होटल संघ पोखरा नेपालले काठमाडौं स्थित चिनिया राजदूतावासलाई एक आग्रह पत्र बुझाएको छ ।
संघका अध्यक्ष लक्ष्मण सुवेदीले नेपालका लागि चिनिया राजदूत छन सोङलाई लेखेको पत्रमा कोभिड १९ केही मत्थर हुँदै गर्दा चीनले गन्तव्य मुलुकको सूची सार्वजनिक गर्नुलाई सकारात्मक रुपमा लिइएको उल्लेख गरिएको छ । सन् २०२३ मा चिनिया पर्यटकलाई स्वागत गर्न नेपाली पर्यटन व्यवसायी तयार र आसावादी भएकै वखत चीनका तर्फबाट सार्वजनिक भएको २० गन्तव्य मुलुकको सूचीमा नेपाल नपर्दा संघ निरास भएको जनाइएको छ ।
कोभिडसँगै भ्रमण स्थगनको करिव तीन बर्षको अन्तरालपछि चीनले सार्वजनिक गरेको सूची अनुसारको व्यवस्था आगामी सोमबारबाट लागू हुँदै छ । दुतावासलाई लेखिएको पत्रमा सार्वजनिक गरिएको देशहरुको सूचीलाई पुनःविचार गरी नेपाललाई पनि त्यसमा समावेश गर्न आग्रह गरिएको छ । उक्त सूचीमा नेपाललाई समेट्न सकिए कोभिड १९ बाट थला परेको नेपाली पर्यटनलाई पुनरुत्थान गर्न र दुई देश विचको सदिऔं पुरानो सम्बन्ध थप प्रगाढ बन्न मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ ।
घुम्नका लागि नेपाल प्राकृतिक रुपमा सुन्दर र सांस्कृतिक तथा ऐतिहासिक रुपमा धनी रहेको स्मरण गराउँदै यहाँको हावापानी पनि चिनिया पर्यटकको लागि उपयुक्त रहेको पत्रमा बताइएको छ । चिनिया पर्यटक विगतमा नेपाल आउँदा पोखराको प्याग्लाइडिङ निकै मन पराउने गरेको र पदयात्रा र हिमाल आरोहण जस्ता गतिविधिमा पनि उनीहरु सरिक हुने गरेको उल्लेख पनि गरिएको छ । पोखरामा चिनिया पर्यटकका लागि आबश्यक पर्ने सबै प्रकारका पर्यटकीय सुविधा उपलब्ध रहेको र चाइना सीएएमसी इञ्जिनियरिङ कम्पनीले चीनकै एक्जिम बैंकको सहुलियतपूर्ण ऋण सहायतामा निर्माण गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल समेत यही माघ एक गते उद्घाटन गरिएको विषय पनि स्मरण गराइएको छ ।
चीनलाई होटल संघको अनुरोध पत्र
प्रतिकृया दिनुहोस्