Pokharapatra National Daily

गण्डकीको मन्त्रिपरिषदले पायो पूर्णता

गण्डकी प्रदेशको मन्त्रिपरिषदले १६ दिनपछि मात्र पूर्णता पाएको छ । गत पुष २५ गते गण्डकी प्रदेशमा तेश्रो मुख्यमन्त्रीमा नियुक्त भएका खगराज अधिकारीको नेतृत्वको सरकारले १६ दिन पछि पूर्णता पाएको हो ।
मुख्यमन्त्री अधिकारीको नेतृत्वमा सोमबार ५ मन्त्रालय घटाएर मन्त्रिपरिषद टुंगाउने तयारी गरे पनि दलहरुलाई मन्त्रालय बाँडफाडमा टुंगो लगाउन नसके पछि उनी काठमाडौं पुगेर एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर मंगलबार पोखरा फर्किएसंगै साँझ मन्त्रिमण्डल विस्तार गरेका हुन् । उनले १२ मन्त्रालयबाट घटाएर ७ मन्त्रालयमा झारेका हुन् । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यबस्था मन्त्रीमा तनहुँका हरि बहादुर चुमान नियुक्त भएका छन ।
त्यसैगरी अन्य मन्त्रीहरुमा आर्थिक मामिला मन्त्रीमा स्याङजाकी सीता कुमारी सुन्दास, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रीमा स्याङजाका पन्चराम गुरुङ, आन्तरिक मामिला तथा कानून मन्त्रीमा नवलपुरका रोशन बहादुर गाहा, कृषि, उर्जा तथा जलश्रोत मन्त्रीमा कास्कीका वेद बहादुर गुरुङ र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा म्याग्दीका रेशम बहादुर जुग्जाली नियुक्त भएका हुन् । मंगलबार मन्त्रीहरु नियुक्ति भएसंगै गण्डकी प्रदेश प्रमुख पृथ्बीमान गुरुङले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।
मुख्यमन्त्री मन्त्री सहित एमालेका ४ मन्त्री नियुक्त हुदाँ माओबादी केन्द्रका २ मन्त्री र राप्रपाका एक मन्त्री नियुक्त भएका हुन् । एमालेका तर्फबाट आर्थिक मामिलामा सुन्दास, आन्तरिक मामिला तथा कानून मन्त्रीमा गाहा, उर्जा तथा जलश्रोत मन्त्रीमा गुरुङ नियुक्त भएका हुन् । त्यसैगरी पूर्व मन्त्री समेत भएका माओबादीका चुमान भौतिक पूर्वाधार विकास तथा यातायात व्यबस्था मन्त्रालयको जिम्मा पाए भने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी जुग्जालीले पाएका हुन् । राप्रपाका गुरुङ सामाजिक विकास तथा स्वास्थ्य मन्त्रीमा नियुक्त भएका हुन् ।
रोशन गाहामगर नवलपुरका १ (२) बाट दोस्रो पटक निर्वाचित भएकमा हुन् भने कास्की–१ (२) बाट निर्वाचित वेदबहादुर गुरुङ यसअघि मादी गाउँपालिका अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । माओवादी संसदीय दलका नेता तनहुँ १ (ख) बाट निर्वाचित आन्तरिक मामिला तथा कानून पूर्व मन्त्री हरिबहादुर चुमान, स्याङजा १ (ख) बाट निर्वाचित एमालेकी नेतृ जिल्ला समन्वयकी प्रमुख समेत भएकी सिता सुन्दास र राप्रपाका समानुपातिक सांसद स्याङजाका पञ्चराम गुरुङ रहेका छन् ।

प्रतिकृया दिनुहोस्