Pokharapatra National Daily

पत्रकार पौडेलको पोखरामा शवयात्रा

उमेरले ३७ बर्ष पनि पूरा नहुदै सेतीखोचमा अस्ताएका पोखराका युवा पत्रकार त्रिभुवन पौडेलको पोखरामा शव यात्रा गरिएको छ ।
नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य, महासंघ गण्डकीका संस्थापक अध्यक्ष, जिल्लाका पूर्व उपाध्यक्ष एवं सचिव, प्रेस सेन्टर नेपालका केन्द्रिय उपाध्यक्ष पौडेलको बुधबार पोखरामा शव यात्रा गरिएको हो । पत्रकारिता क्षेत्रमा उनले पुराएको योगदानको उच्च मुल्याङकन गर्दै महासंघले बुधबार पोखरामा शव यात्रा सहित श्रद्धान्जली सभा समेत आयोजना गरेको कोषाध्यक्ष कृष्ण दबाडीले बताए ।
पत्रकार पौडेलको पार्थीव शरीरिमा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोखरेल,महासचिव रोषन पुरी, निवर्तमान अध्यक्ष गोविन्द आचार्य, प्रेस सेन्टर नेपालका केन्द्रिय अध्यक्ष बिष्णु सापकोटा (जुगल) ले आफ्नो संस्थाको झण्डा ओढाएका थिए ।
पत्रकार पौडेलको पार्थीव शरिरमा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, गण्डकी प्रदेश सभाका प्रमुख प्रतिपक्ष दलका नेता सुरेन्द्रराज पाण्डे, प्रदेशका मन्त्री, सांसद र पूर्व मन्त्री विन्दुकुमार थापा, रामजी प्रसाद बराल जीवन पोखराका मेयर धनराज आचार्य लगायतका विभिन्न संघ संस्थाका पदाधिकरीहरुले फुल, माला, खादा अर्पण गरेका थिए ।
मंगलबार बेलुका करिब १०ः३० बजे मात्र पोष्टमाटम सहितको प्रकृया पूरा गर्दा समय लागेका कारण पौडेलको बुधबार विहान शव बुझिएको उनका आफन्तले बताए । उनको निवास पोखरा रानिपौवामा र रानीपौवा देखि पत्रकार महासंघको परिसर राष्ट्रबैंक चोकमा त्यहाँबाट मुस्ताङचोक, पृथ्बीचोक, नयाँबजार हुदै रामघाटमा लगेर अन्तिम दाहसंस्कार गरिएको थियो । उनका दाजु उत्तम पौडेलले उनलाई दागबत्ती दिएका थिए । पत्रकार पौडेलका आमा, श्रीमती र एक छोरा रहेका छन्। पत्रकार पौडेलले पत्रकारिता र सामाजिक क्षेत्रमा पुराएको योगदानको प्रशंम्सा गर्दै उनले देखाएको बाटो हिड्न आफुहरु कटिवद्ध भएको महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले बताइन् ।
पर्वत घर भई हाल पोखरा ११ फुलवारीमा बस्दै आएका पौडेल विगत साँढे दुई दशक देखि पकारिता र सामाजिक क्षेत्रमा काम गर्दै आएका थिए । स्वाभिमान, पोखरा हट्लाइन, अन्नपूर्ण एफ.एम., नेपाल टेलिभिजन, हिमाल खबर पत्रिका हुदै हट्लाइनको सम्पादक समेत भएका पौडेल तत्कालिन अर्थमन्त्री कृष्ण बहादुर महराको प्रेस संयोजकको रुपमा समेत काम गरेका थिए ।
आइतबार विहान १०ः३२ बजे काठमाण्डौंबाट पोखरा उडेको यति एयरलायन्सको ९ एन ए एन सी, एटीआर —७२ ५०० नम्बरको विमान पोखरा १५ स्थित नयाँगाउँको सेती नदीको खोँचमा दुर्घटना भएको थियो । उक्त विमानमा चालक दलका ४ सदस्य सहित ७२ जना यात्रु रहेका मध्य २५ जना महिला, ३७ जना पुरुष, ३ बालक, २ शिशु रहेको यति एयरलायन्सले जनाएको छ ।

प्रतिकृया दिनुहोस्