Pokharapatra National Daily

विमान दुर्घटनामा भेटिएका शवको पोष्टमाटम गर्न सुरु, ३ को खोजी कार्य जारी

पोखरामा आइतबार यति एयरलायन्सकोे विमान दुर्घटना हुँदा भेटिएकाको शवको पोष्टमाटम गर्न सुरु गरिएको छ ।
उक्त विमान दुर्घटनामा परी हालसम्म पहिचान भएका ६९ वटा शव मध्य पोखरामै करिब २४ जनाको पोष्टमाटम गर्न सुरु गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले बताए ।
बिमान दुर्घटनाको बिषयमा केन्द्रको टोली सहित धेरै डकुमेन्टहरु तयार गरी मुचुल्का गर्नुपर्ने हुदाँ सोमबार दिउँसो करिब ४ः०० बजेदेखि पोष्टमाटम गर्न सुरु भएको उनले बताए । विमानमा सवार ७२ मध्य मंगलबार साँझसम्म ६९ जनाको शव भेटिएको प्रजिअ केसीले बताए । विमान दुर्घटनामा परी शवको पहिचान खुलेका पत्रकार त्रिभुवन पौडेल, निशान आचार्य, ओममाया गुरुङ, यस्मिन गुरुङ, पुजन राना, अरुण पौडेल, प्रसिद्धी पौडेलको पोखरामै पोष्टमार्टम हुने भएको छ । त्यसैगरी जीवनकला गुरुङ र पूर्णबहादुर गुरुङ, संगीता शाही, सदाकत अलि मिया, लक्ष्मी पौडेल, गायीका निरा छन्त्याल, विजयकुमार गुरुङ, रक्की गुरुङ, शालिकराम आचार्य, डा.गणेश थापा, मोहनप्रकाश श्रेष्ठ, सीता गुरुङ, जमुना शर्मा, बन्दना सुनार, सर्बिन श्रेष्ठ, अनुषा गुरुङ र शिवकुमार गुरुङको पोखरामै पोष्टमार्टम हुने भएको अस्पताल स्रोतले जनाएको छ । बाँकी पहिचान नखुलेका ४५ जनाको भने काठमाडौं लगिने भएको छ । सोमबार एक जनाको शव भेटिएको हो भने बाँकी ३ जनाको शव खोजि कार्य जारी रहेको प्रशासनले जनाएको छ ।
काठमाडौंको टिचिङ हस्पिटलका डा.गोपाल कुमार चौधरीको नेतृत्वमा पोष्टमाटम गर्न सुरु गरिएको हो । भेटिएकाको शव उनका आफन्तहरुसँगको सोधपुछ र केही प्रमाण परिचयपत्र लगायतको बिषयमा पहिचान गरिएको प्रजिअ केसीले बताए । प्रतिकुल मौसमका कारण पोष्ट माटम गर्ने मध्यको दुई सदस्य काठमाडौंबाट हेलिकोप्टर मार्फत पोखरा आउन केही ढिला भएको कारण सोमबार पोष्टमाटम गर्न केही ढिलो भएको उनले जनाए । सरकारले पोष्टमाटम राष्ट्रिय शव परिक्षण समिति हालै गठन गरेको हो ।
सोमबार पहिचान भएकाको शव पोष्टमाटम पश्चात उनका आफन्तलाई बुझाउने पूर्व सूचना दिएका कारण मृतकका आफन्त तथा शुभेच्छुकहरु विहानै देखि पोखराको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल (पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान) मा ठुलो सङख्यामा सहभागी भएका थिए । पोष्टमाटम गर्न ढिलो हुदा मृतकका आफन्तले छिटो पोष्टमाटम गरी शव बुझाउन माग गरेका थिए भने वेपक्ताको खोजि कार्यलाई थप प्रभावकारी बनाउन आग्रह गरेका थिए ।
मृतकका आफन्तले राम्रोसंग पहिचान गरेकाको शव पोखरामा पोष्टमाटम गरेसंगै उनका आफन्तलाई बुझाउने व्यबस्था मिलाएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. भरत खत्रिले बताए । पोखरामा पहिचान हुन नसकेकाको र विदेशीहरुको शवको भने मंगलबार काठमाडौं लगिने तयारी गरिएको उनले जनाए ।
यसैबिच यति एयरलायन्सको बाहेक अन्य विभिन्न कम्पनीको पोखराबाट हवाई उडान नियमित भएको पोखरा विमानस्थलका प्रमुख बिक्रम गौतमले बताए । मंगलबारदेखि यति एयरलायन्सको नियमित हवाई उडान हुने भएको यति एयरलायन्स पोखराका स्टेशन म्यानेजर राम लामिछानेले बताए । विदेशी नागरिक, चालक दलका सदस्य र पहिचान हुन नसकेका शवहरु हेलिकोप्टर मार्फत काठमाडौं लगिने भएको उनले जनाए । यति एयरलायन्सको विमान दुर्घटनामा परी आफ्ना आफन्तको शव व्यबस्थापनमा केही समस्या भएमा पोखराका स्टेशन म्यानेजर लामिछानेलाई सम्पर्क गर्न कम्पनीले सूचना समेत जारी गरेको छ ।
व्ल्याक वक्स भेटियो
आइतबार दुर्घटना भएको यति एयरलायन्सको व्ल्याक वक्स समेत भेटिएको छ । विमान दुर्घटना भएको दोश्रो दिनमा दुर्घटना स्थल सेतीखोचमा भेटिएको प्रहरीले जनाएको छ । विमान दुर्घटना हुनुको केही कारणहरु भने व्ल्याक वक्सको सहायताले पक्ता लगायन सहज हुने भएको छ । फ्लाइट राइड रेकर्ड र ककपिट भ्वाईस रेकर्ड रहने उक्त व्ल्याक वक्स दुर्घटना जाँच आयोगलाई बुझाउने भएको छ ।
पत्रकार पौडेलको मंगलबार शव यात्रा गरिने
नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य, प्रेस सेन्टर नेपालका केन्द्रिय उपाध्यक्ष त्रिभुवनको मंगलबार पोखरामा शव यात्रा गरिने भएको छ । पर्वत घर भएका ३६ वर्षीय पत्रकार पौडेलको निवासमा बिहान त्यस पश्चात नेपाल पत्रकार महासंघमा श्रद्धान्जली सभा सहित शव यात्रा गरिने भएको महासंघ कास्कीका कोषाध्यक्ष कृष्णप्रसाद दवाडीले बताए । सोमबार नै शव यात्रा सहित पत्रकार पौडेलको श्रद्धान्जली सभा गर्ने तयारी गरे पनि पोष्टमाटम गर्न ढिलो भएका कारण मंगलबार हुने भएको उनले जनाए । आइतबार विहान १०ः३२ बजे काठमाडौंबाट पोखरा उडेको यति एयरलायन्सको ९ एन ए एन सी, एटीआर —७२ ५०० नम्बरको विमान पोखरा १५ स्थित नयाँगाउँको सेती नदीको खोँचमा दुर्घटना भएको थियो ।

प्रतिकृया दिनुहोस्