Pokharapatra National Daily

गण्डकीको उपसभामुख एमालेकी थापा निर्वाचित

गण्डकी प्रदेश सभाको उप सभामुखमा नेकपा एमालेकी विनाकुमारी थापा निर्वाचित भएकी छिन् ।
सोमबार बसेको प्रदेश सभा बैठकले थापालाई उप सभामुखमा चयन गरेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
उपसभामुख चयनका लागि भएको मत विभाजनमा थापाको पक्षमा ३२ सांसदले मत जाहेर गरेका थिए । एमालेका २२, माओवादीका ७, राप्रपाका २ र १ स्वतन्त्र सांसदले उनलाई मत जाहेर गरेका हुन् । थापाले सो मत प्राप्त गरेपछि उनी निर्वाचित भएको घोषणा सभामुख कृष्ण धितालले गरेका थिए ।
निर्वाचित उपसभामुख थापाले सोमबारै प्रदेश प्रमुख पृथ्बीमान गुरुङबाट पद तथा गोपनीयताको शपथ लिएकी छन् । बाग्लुङकी ४९ वर्षीया थापा समानुपातिक कोटाबाट सांसदमा चयन भएकी हुन् । यसअघि बैठकमा थापालाई उपसभामुखमा चयन गरियोस भन्दै एमालेका सांसद गोविन्दबहादुर नेपालीले प्रस्ताव र माओवादीकी सांसद सुशीला सिम्खडाले समर्थन गरीन् ।
यता नेपाली काग्रेसको तर्फबाट लमजुङकी पार्वती तामाङलाई उपसभामुखमा निर्वाचित गरियोस भन्दै नन्दप्रसाद न्यौपानेले प्रस्ताव र दोणकुमार कुँवरले समर्थन गरेका थिए । काग्रेसकी तमाङको पक्षमा २६ मत परेको थियो । ६० सदस्य गण्डकी प्रदेश सभामा बहुमतको लागि ३१ मत आवश्यक हुन्छ ।
एमाले नेतृत्वमा बनेको सत्ता गठबन्धनले गण्डकीमा मुख्यमन्त्री र उपसभामुख एमाले र सभामुख माओवादीले पाउने सहमती भएको थियो । पुष ३० मा माओवादीका कृष्ण धिताल सत्ता गठबन्धनका तर्फबाट सभामुखमा निर्वाचित भएका थिए ।

प्रतिकृया दिनुहोस्