Pokharapatra National Daily

७२ जना सवार यतिको विमान दुर्घटना

पोखरा स्तब्ध, ६८को शव भेटियो, पत्रकार पौडेलको निधन

यति वेला पोखरेली स्तव्ध भएका छन् । माघे सक्रान्तिको दिन आइतबार बिहान १०ः५७ बजे यति एयरलायन्सको विमान पोखरामा दुर्घटनामा पर्दा पोखरेलीहरु स्तव्ध भएका हुन् ।
विभिन्न पेशा व्यवसाय र विभिन्न कामले गर्दा पोखरा फर्किदै गरेका पोखरेलीहरु सवार यति एयरलायन्सको ९ एन ए एन सी, एटीआर—७२ ५०० नम्बरको विमान दुर्घटनामा पर्दा पोखरालाई ठुलो क्षति भएको छ । उक्त विमानमा सवार ६८ जनाको शव भेटिएको छ भने ११ जनाको सनाखत भएको श्रोतले जनाएको छ ।
आइतबार विहान १०ः३२ बजे काठमाडौंबाट पोखरा तर्फ आउदै गरेको उक्त विमान पोखरा १५ स्थित नयाँगाउँको सेती नदीको खोँचमा दुर्घटना हुँदा ७२ जना यात्रु रहेका मध्य हालसम्म ६८ जनाको शव भेटिएकोे पोखरा अन्तराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । उक्त विमानका पाइलट कमल केसी कास्कीका हुन्। चालक दलका अन्य ३ सदस्यहरुमा अन्जु खतिवडा, सुजना होंगचुन र ओसीन आले मगर रहेका थिए ।
पोखरा अन्तराषर््िट्रय विमानस्थलको टावरमा १०ः५७ बजेसम्म सम्पर्कमा रहेकोले उक्त विमानका पाइलट कमल केसीले पश्चिम तर्फको रुटमा अवतरण गर्न माग गरे अनुसार आफुहरुले अनुमति दिएको पोखरा अन्तराष्ट्रिय विमानस्थलका प्रमुख बिक्रम गौतमले बताए । उक्त विमान दुर्घटना हुनु पुर्व विमानको पंखा समेत नचलेको विमानमा आगो लागेको हुन सक्ने स्थानीयले बताएका छन् ।
उक्त विमानमा २५ जना महिला, ३७ जना पुरुष, ३ बालक, २ शिशु रहेको यति एयरलायन्सले जनाएको छ । उक्त विमानमा १५ जना विदेशी यात्रु सवार थिए । पाँचजना भारतीय, चार जना रसियन, दुई जना कोरियन, एक अर्जेन्टिनी, एक आइसिरिस र एक फ्रान्सेली नागरिक रहेको कम्पनीले जनाएको छ ।
सेती नदीको छेउमा बजारिएर सेतीनदी खोँचमा धेरै तल विमान खसेका कारण उद्धारमा कठिनाई भएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले बताए । आइतबार साँझसम्म पनि ४ जना वेपक्ता भएकोले लाइट बालेर वेपक्ता ४ जनाको खोजि कार्य भई रहेको उनले जनाए । सोमबार शव पहिचान गर्दै यस क्षेत्रको शव पोष्टमाटम पश्चात उनीहरुका आफन्तलाई शव बुझाउने तयारी गरिएको प्रजिअ केसीले बताए । पोखरा क्षेत्र भन्दा बाहिरका तथा विदेशीहरुको शव सोमबार हेलिकोप्टरको सहायताबाट काठमाण्डौं पुराउने उनले बताए । दमकलको सहायताले केही घण्टाको प्रयासमा मात्र उक्त विमानमा लागेको आगो नियन्त्रणमा लिइएको प्रजिअ केसीले बताए । उक्त विमानमा लागेको आगो नियन्त्रणको लागि हेलिकोप्टरबाट समेत पानी हालिएको थियो भने वेपक्ताको खोजि गर्दा क्रेनको समेत प्रयोग गरिएको उनले जनाए । भेटिएको शव पोखराको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल (पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान) को शव गृहमा राखिएको छ ।
घटना हुन साथ सुरक्षा निकायका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेस्क्यु टिम सहित स्थानिय उद्धारमा खटिएका थिए । पोखरा रंगशाला भन्दा करिब २ सय मिटर तल्लो भागको सेतीखोजको डिलमा खेतमा दुर्घटना भएको विमान उछिट्टिएर खोजमा परेको स्थानियले बताएका छन् । उक्त विमानको भर्याङ, एउटा पंखाको केही भाग र केही टुक्राको भाग वारि थियो भने ठुलो भाग पारि पाखामा पुगेको थियो । उक्त विमान दुर्घटनामा परेसंगै स्थानिय सहित सुरक्षाकर्मी उद्धारमा खटिएका थिए । यात्रुका आफन्त, पोखरेली देखि माघे सक्रान्ति मेला हेर्न गएका हजारौं मानिसहरुको भिडले सुरक्षाकर्मीलाई भिड नियन्त्रण गर्न हम्मे हम्मे भएको थियो ।
रहेनन् पत्रकार पौडेल
उक्त विमानमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य, नेपाल पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष, महासंघ कास्कीका पूर्व उपाध्यक्ष एवं प्रेस सेन्टर नेपालका केन्द्रिय उपाध्यक्ष त्रिभुवन पौडेल अस्ताएका छन् । हसिलो अनुहार सवैसंग मिल्ने फुर्तीलो स्वभाव र केही न केही गर्न खोज्ने पत्रकार पौडेल आइतबार यति एयरलायन्सको उक्त विमानमा १०ः३० बजेको टिकट लिनु दुभाग्य भएको छ ।
प्रेस सेन्टरको पदाधिकारीको बैठकमा सहभागि हुन शुक्रबार काठमाडौं गएका पौडेल आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई विहान भेट्ने कार्यक्रम तय भए पनि प्रधानमन्त्री विभिन्न कार्यक्रममा व्यस्त भएका कारण उनी विहान १०ः३० बजेको टिकट लिएका थिए । जन्म घर पर्वत भएका पौडेल विगत लामो समय देखि पोखरामा पत्रकारिता गर्दै आएका थिए भने हाल पोखरा ११ फुलवारीमा बस्दै आएका थिए । उनका आमा, श्रीमाती र एक छोरा (३ बर्ष) छन् । उनी पोखराबाट प्रकाशित हुने हट्लाइन राष्ट्रिय दैनिकका संचालक हुन । पौडेल हटलाइन, रेडियो अन्नपूर्ण, नेपाल टेलिभिजन, हिमाल खबर पत्रिका लगायतका संचार माध्यममा काम गरेका थिए । उनीले अर्थ मन्त्री कृष्ण बहादुर महराको प्रेस संयोजकको रुपमा समेत काम गरेका थिए । उक्त विमानमा पत्रकार अनिल शाही सवार भएका थिए । स्थानिय एपोष्टल रेडियोमा कार्यरत शाही काठमाडौमा बिषेश कामले गएको उनका आफन्तले जनाएका छन् ।
हेमजाका दुई जोडी पनि विमानमा
पोखरा २५ (हेमजा) का दुई श्रीमान श्रीमतीको जोडी समेत विमानमा सवार भएको स्थानियले बताएका छन् । हेमजाका राजन सापकोटा र अनिसा बानियाको जोडी र जितेन्द्र कुवंर र भगवती कुवंरको जोडी समेत उक्त विमानमा सवार भएका थिए । चार वर्ष अघि डिभि परेर अमेरिका गएका सापकोटा गत वर्ष माघमा आएर विवाह गरी अमेरीका फर्किएका थिए । सापकोटाले यसपाली माघे सक्रान्ति मनाउदै श्रीमतीलाई अमेरिका लैजानका लागि केही दिन अघि मात्र नेपाल आएका थिए । अनिसा बानिया श्रीमानलाई लिन काठमाण्डौ गएकी थिईन । नौ महिनापछि भेट भएका श्रीमान श्रीमती काठमाण्डौबाट पोखरा आउदा उक्त विमानमा आउने क्रममा दृर्घटनामा परेका हुन् ।
पोखरा २५ (हेमजा) घर भएका जितेन्द्र कुँवर आफ्नी छोरीको डेरा सार्न केही दिन अघि छोरा जेनिस सहित काठमाडौं गएका थिए । श्रीमती भगवती र छोरी जेनिसा भने काठमाडौमा बस्दै आएका थिए । डाक्टर पढेर सकेकी छोरी जेनिसाले पोखरा १६ स्थित मातृशिशु मितेरी अस्पतालमा जागरिको व्यबस्था भएसंगै उनलाई लिन बाबु जितेन्द्र छोरा सहित काठमाण्डौ गएका थिए । छोरी जेनिसा सोमबारदेखि कार्यालयमा हाजिर हुनुपर्ने भएपछि शनिबार बसबाट पोखरा आएकी थिईन भने बाबु सगै गएका जेनिस अर्को एक आफन्त सगै शनिबार ट्रकमा सामान लिएर पोखरा आएका थिए । छोरी बस र छोरा ट्रकमा सामान लिएर पोखरा गएपछि कुँवर दम्पत्तीले आईतबार बिहानको जाहाजको टिकट काटेर माघे सक्रान्ति मनाउने योजना बनाए पनि उक्त विमान दुर्घटनामा परेका हुन्।
रोजगारको लागि हङकङ पुगेका पोखरा २२ का रक्कि गुरुङ आफ्नो जन्म घर पोखरा उक्त विमानमा आउदै थिए । गण्डकी प्रदेशको कानून संचार तथा प्रदेश सभा मामिलामा अधिकृत पदमा कार्यरत लक्ष्मी पौडेल समेत उक्त विमानमा सवार भएकी थिइन्। छैटौं पदमा कार्यरत पौडेल कार्यालयकै कामको लागि काठमाण्डौं गएको मन्त्रालयले जनाएको छ ।
माघे सक्रान्ति मनाउन पोखरा आएको श्रेष्ठ दम्पती
काठमाण्डौको ट्रमा सेन्टरमा कार्यरत सर्जन (डा.) सुसिल श्रेष्ठ, श्रीमती डा. सेना दिवाकर र १० महिने छोरा सहित माघे सक्रान्ति मनाउनका लागि उक्त विमानमा पोखरा आएका थिए । पोखरा महानगरपालिका वडा नम्बर ४ घर भएका उनीहरु पोखरा १५ को सेतीखोजमा उक्त विमान दुर्घटनामा परी हालसम्म वेपक्ता भएका छन्। बुबा मदनकाजीले माघे सक्रान्ति मनाउनका लागि भन्दै बोलाएको उनका आफन्तले जनाए । एक साताको बिदा लिएर परिवार भेट्न आएका श्रेष्ठ दम्पत्ती आफनो १० महिने छोरा सहित घर आई नपुग्दै बाटोबाटै उक्त विनमा दुर्घटनामा परी वेपक्ता भएका छन् ।
विमान दुर्घटनाको बिषयमा स्थानीय के भन्छनः
८७ बर्षका स्थानिय ववरसिंह गुरुङ माघे सक्रान्ति पर्व मनएसंगै पारिलो घाम ताप्दै थिए । घडीमा लगभग १०ः५७ बज्दै गर्दा एकाएक आफु भन्दा माथि नजिकै यति एयरलायन्सको विमान हल्का कालो मुस्लो फाल्दै हुई गर्दै सेतीखोज नजिकेको छेटमा बजारिएको देष्य देखेर उनी हार गुहार गर्न थाले । विमान दुर्घटना भएको स्थल भन्दा करिब एक सय मिटर टाडाको दुरीमा विमानबाट यति एयरलायन्स लोगो अंकित कफिको ग्लास र जलेको काठजस्तो देखिने एउटा बस्तु समेत खसेको उनी बताउछन् । स्थानिय बलबहादुर गुरुङले आफुहरुको घर नजिकैबाट उक्त विमान आएर सेतीखोज छेउमै दुर्घटना हुँदा सेतीखोजमा विमान पर्न गएको बताए । पोखरा बसपार्क देखि सेतीखोच तर्फ आएको उक्त विमान निकै कोल्टे परेर स्वाठ्ठै झरेर ड्याम आवाज आएसंगे आगो र मुस्लो एकै पटक आएको उनले बताए । धुवा र आगोको मुस्लोसंगै सेतीखोजमा उक्त विमान खसेसंगै आफुहरुले हार गुहार गर्न लागेको स्थानिय बल बहादुरले बताए । घरै उडायो की भनेको धन्न घर बचेकोमा उनी छक्क परे ।

प्रतिकृया दिनुहोस्