Pokharapatra National Daily

गण्डकी प्रदेश सभामुखद्वारा सपथ ग्रहण

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गण्डकी प्रदेशसभाबाट सभामुखमा निर्वाचित कृष्णप्रसाद धिताललाई सपथ गराउनुभएको छ ।
प्रदेशसभाबाट शनिबार दिउँसो निर्वाचित सभामुख धिताललाई प्रदेश प्रमुख गुरुङले आफ्नै निवास सिमलचौरमा शनिबार साँझ एक कार्यक्रमका बीच पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको हो ।
सपथ ग्रहण कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, मन्त्रीहरू, प्रतिपक्षी दलका नेता तथा गण्डकी क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद लगायतको उपस्थिति रहेको थियो । सभामुखमा निर्वाचित धिताल गोरखा १ (१) बाट निर्वाचित सांसद हुनुहुन्छ ।
शनिबार सम्पन्न निर्वाचनमा सभामुख धितालले ३२ मत प्राप्त गर्नुभएको थियो भने उहाँको विपक्षमा २६ मत खसेको थियो । नेकपा (माओवादी केन्द्र) का फणिन्द्र देवकोटाको प्रस्ताव र नेकपा (एमाले)का रोशन गाहा मगरको समर्थनमा प्रस्तावित धितालको पक्षमा सत्तारूढ दलसँगै प्रतिपक्षमा बसेका एक प्रदेशसभा सदस्यले पनि मतदान गर्नुभएको थियो ।
धिताललाई सभामुख बनाउने पक्षमा सत्तारूढ एमालेका २१, माओवादी केन्द्रका आठ र राप्रपाका दुई र एक स्वतन्त्र सदस्यले मतदान गर्नुभएको थियो । विपक्षमा भने नेपाली कांग्रेसका २६ जनाले मतदान गर्नुभएको थियो । ६० सदस्यीय गण्डकी प्रदेशसभामा बैठकको अध्यक्षता गर्नुभएका मित्रलाल बस्यालले मतदानमा भाग लिन पाउनुभएन ।
सभामुखमा नेपाली कांग्रेसकी सरस्वती अर्याल तिवारी पनि उम्मेदवार बन्नुभएको थियो । ६० सदस्य प्रदेश सभामा काग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रको ८, राप्रपाका २ र एक स्वतन्त्र सांसद छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री एमालेका खगराज अधिकारीले यस अघि विश्वासको मत समेत लिई सक्नुभएको छ । गण्डकी प्रदेशमा अघिल्लो सरकारले १२ मन्त्रालयसम्म पुराएकोले यो सरकारले भने केही मन्त्रालय घटाउने योजनामा रहेको छ ।

प्रतिकृया दिनुहोस्