Pokharapatra National Daily

गण्डकीका मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्नुभएको छ ।
साठी सदस्यीय प्रदेशसभामा विश्वासको मतका पक्षमा ३१ र विपक्षमा २७ मत खसेको थियो ।
मुख्यमन्त्री अधिकारीलाई विश्वासको मतसम्बन्धी प्रस्तावका पक्षमा नेकपा (एमाले) का २१, माओवादीका आठ र राप्रपाका दुई सांसदले मतदान गर्नुभएको थियो भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका २७ सदस्यले विपक्षमा मतदान गर्नुभएको हो ।
एमालेबाटै निर्वाचित भएर सदनको अध्यक्षता गर्नुभएका मित्रलाल बस्यालले मतदान गर्नुभएन भने स्वतन्त्र सांसद राजीव गुरुङ बैठकमा अनुपस्थित हुनुभयो । एमाले गण्डकी प्रदेश संसदीय दलका नेतासमेत रहनुभएका अधिकारी गत पुस २५ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । अधिकारीले गठबन्धनका तर्फबाट ३३ जना सांसदको समर्थनसहित प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष दाबी गरे पछि मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । उहाँलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो ।
हाल गण्डकीमा मुख्यमन्त्रीसहित चार मन्त्री नियुक्त भए पनि मन्त्रालयको टुङ्गो भने लाग्न सकेको छैन । एमालेकी सीता सुन्दास, माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान र राप्रपाका पञ्चराम गुरुङ मन्त्रीमा नियुक्त हुनुभएको थियो ।

प्रतिकृया दिनुहोस्