Pokharapatra National Daily

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा अधिकारी

गण्डकी प्रदेशमा खगराज अधिकारी नियुक्त भएका छन् । स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) सहित ३३ जनाको समर्थनमा मुख्यमन्त्रीको गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्बीमान गुरुङ समक्ष दाबी पेश गरेसंगै अधिकारीले सोमबार नै नियुक्त हुदै पद तथा गोपनीयताको शपथ लिएका हुन ।
उनी प्रदेशको तेश्रो मुख्यमन्त्री बन्न सफल भए । यसअघि पृथ्बीसुब्बा गुरुङ र कृष्ण चन्द्र नेपाली पोखरेल मुख्यमन्त्री भएका हुन् । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख समेत रहेका पूर्व गृह तथा स्वास्थ्य मन्त्री अधिकारी कास्की १ (१) बाट निर्वाचित भएका हुन् । प्रदेशमा थप तीन मन्त्री समेत नियुक्त भएका छन् । नियुक्त भएका तीन पार्टीका विना विभागीय मन्त्रीको रुपमा सोमबार नै शपथ लिएका हुन् । नवनियुक्त मन्त्रीहरुमा माओवादी केन्द्रका संसदीय दल नेता हरिबहादुर चुमान, एमालेबाट सीता सुन्दास र राप्रपा संसदीय दलका नेता पञ्चराम गुरुङ रहेका छन् । माओवादी संसदीय दलका नेता चुमान दोस्रो पटक प्रदेश सभामा निर्वाचित हुदै दोश्रो पटक मन्त्री बनेका हुन् । प्रदेशको पहिलो मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङको नेतृत्वमा बनेको सरकारको पाला करिब साँढे ३ बर्ष आन्तरिक मामिला तथा कानुनमन्त्रीको जिम्मेवार सम्हालेका छन् । चुमान तनहुँ १ को प्रदेश सभा २ बाट निर्वाचित भएका हुन् । एमाले केन्द्रीय सदस्य समेत रहेकी सुन्दास यसअघि जिल्ला समन्वय समिति स्याङ्जा प्रमुख हुन। सुन्दासले स्याङ्जा १ को प्रदेश सभा १ बाट चुनाव जितेकी हुन् । राप्रपाका गण्डकी प्रदेश अध्यक्ष समेत रहेका पञ्चराम तमु समानुपातिक निर्वाचन प्रणालीबाट पहिलो पटक प्रदेश सांसद भए लगत्तै मन्त्रीमा नियुक्त भएका हुन् । उनको नाम जनजातितर्फ १ नम्बरमा थियो । तमुसँगै राप्रपाबाट विन्दु पहाडी पनि समानुपातिक बाट प्रदेश सांसद बनेका हुन् ।
सत्तारुढ दलको बाडफाँड हुदाँ गण्डकी प्रदेशको मुख्यमन्त्री एमालेलाई दिइने सहमति भए अनुरुप अधिकारीले गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष आफ्नो दाबी पेश गरेका हुन् । ६० सदस्यीय गण्डकी प्रदेश सभामा एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) को एक सदस्य रहेका छन् । यस अघि मनाङे एकिकृत समाजबादीमा प्रबेश गरेका थिए तर उनले आफु हाल स्वतन्त्रमा पुनः फर्किएको बताएका छन् । उनी मनाङबाट सर्वसम्वत सांसद भएका हुन्। उनी पृथ्बीसुब्बा र कृष्णचन्द्र नेपाली पोखरेको नेतृत्वको सरकारमा रहदै प्रदेशको युवा तथा खेलकुद मन्त्रालय सम्हाल्दै आएका छन् ।
नवनियुक्त मुख्यमन्त्री नेता अधिकारी कास्की १ (१) बाट निर्वाचित हुनुभएको थियो । विसं २०७४ मा कास्की १ बट निर्वाचित भएर सङ्घीय ससंद्मा प्रतिनिधित्व गर्नुभएका अधिकारी विसं २०७८ वैशाख ३१ मा केपी शर्मा ओली नेतृत्वमा गठित सरकारको गृहमन्त्री बन्नुभएको थियो । दोस्रो संविधानसभाको निर्वाचनपछि सुशील कोइराला नेतृत्वको सरकारमा उहाँले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो ।
कास्कीको लेखनाथमा विसं २०१८ चैत २५ मा जन्मनुभएका अधिकारी विद्यार्थी राजनीति हुँदै सक्रिय राजनीतिमा होमिनुभएको थियो । विसं २०४० मा पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सभापति हुँदै अनेरास्ववियु केन्द्रीय उपाध्यक्षसम्मको जिम्मेवारीमा पुग्नुभएको थियो । राजनीतिक मुद्दामा पटकपटक बन्दी जीवन बताउनुभएका अधिकारी एमाले कास्कीको अध्यक्षसमेत बन्नुभएको थियो ।
अधिकारीको संसदीय यात्रा विसं २०५१ देखि सुरु भएको थियो । उहाँ पार्टीको सचेतक, पोलिटब्यूरो सदस्य, गण्डकी प्रदेश संयोजक हुँदै अहिले स्थायी कमिटी सदस्य हुनुहुन्छ । अधिकारी एमालेको सङ्गठन विभाग प्रमुखसमेत हुनुहुन्छ । एमाले र माओवादी केन्द्रबीचको एकतापछि बनेको नेकपाकालमा उहाँले केन्द्रीय कमिटी सदस्य एवं गण्डकी प्रदेश सह–इञ्जार्चको जिम्मेवारी पाउनुभएको थियो ।
यसैबिच गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफ्नो पद जानु केही मिनेट अघि पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत प्रदेशमा उज्यालो र एक घर एक धारा अभियान सम्पन्न गर्न चाहेर पनि बजेट अभाव भएको बताए । प्रदेशका करिब २८ सय घर धुरीमा सोलार लाइट जडानको अन्तिम तयारी भएको तथा प्रदेशमा ९३ प्रतिशत जनताको पहुचमा एक घर एक धारा पुगेको उनले दाबी गरे ।
त्यस्तै प्रदेशकी निवर्तमान स्वास्थ्य तथा जनसङख्या मन्त्री मधुमाया गुरुङ अधिकारीले समेत सोमबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य जस्तो सम्बेदनशिल क्षेत्रमा जनशक्ति अभाव भएकोले त्यसको व्याबस्थापन गर्नु पर्ने बताइन् ।

प्रतिकृया दिनुहोस्