Pokharapatra National Daily

संकटा क्लवले जित्यो आहा रारा पोखरा गोल्ड कपको उपाधि

संकटा क्लवले २२ औ संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटवल प्रतियोगिता २०७९ को उपाधि जितेको छ ।
पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा अतिरिक्त समयको आधारमा संकटाले पहुना टोली अमेरीकाको भुटानी युथ स्पोटर्स क्लब (बिवाईएससी) लाई ३–२ को गोल अन्तरले पराजित गरी उपाधि सहित नगद १२ लाख पुरस्कार प्राप्त गर्यो ।
२०७७ सालको विजेता संकटाले आहा रारामा यो दोश्रो उपाधि जितेको हो । उक्त प्रतियोगितामा गत वर्षदेखि सहभागिता जनाउदै आएको बिवाईएससीले यसपाली फाइनलमा पुगेर पनि फाइनल खेलमा पाएका केही अवसरलाई सदुपयोग गर्न नसक्दा उपविजेतामा सिमित हुनु पर्यो । ९० मिनेटको निर्धारित समयमा दुबै तर्फ २, २ गोलले खेल बराबरीमा पुगे पछि ३० मिनेटको अतिरिक्त समयमा लम्बिएको थियो ।
खेलको ८ मिनेटमा संकटाका सुरजज्यू ठकुरीले पहिलो गोल गरे । संकटाका मेसुकेले खेलको ३५ औं मिनेटमा गोल गरी आफ्नो टिमलाई २–० को अग्रता दिलाए । पाहुना टोली बिवाईएससीले खेलको ३७ औं मिनेटमा एक गोल गरे । बिवाईएससीका रेने शान्टोलिनले पहिलो गोल गरेका हुन भने पहिलो हापको थपिएको ४ मिनेटको ३ औं इन्जुरी समयमा विलिसले गोल गरी खेल बराबरीमा पुराए । संकटाका सुनिल वलले खेलको १ सय १७ औं मिनेटमा गोल गरी आफ्नो टिमलाई जित दिलाए । फाइनल खेलमा संकटाका मेसुकेले म्यान अफ दी म्याच घोषित भए । फाइनल खेलमा करिब दश हजार दर्शक सहभागि भएका थिए ।
प्रतियोगितामा संकटाका सुनिल वल उत्कृष्ट खेलाडी घोषित भए । उनले एक थान इलेक्टिक स्कुटर पुरस्कार प्राप्त गरेका छन्। त्यसै गरी प्रतियोगितामा उत्कृष्ट स्टाइकर संकटाका स्टेफेन, उत्कृष्ट डिफेण्डरमा बिवाईएससीका हेक्टर, उत्कृष्ट मिड फिल्डरमा संकटाका आयुष धलान, उत्कृष्ट प्रशिक्षकमा संकटाका शल्यान खड्की घोषित भए । प्रतियोगितामा संकटाका मेसुकेले ४ गोल गरी सर्वाधिक गोलकर्ताको उपाधि जिते । पाहुना टोली बिवाईएससी सहित १० टिमको सहभागिता रहेको प्रतियोगितामा धरान फुटवल क्लव अनुशासित टोली घोषित भएको छ । प्रतियोगितामा उत्कृष्ट पाँच विधामा जनही २५ हजार, सर्वाधिक गोलकर्तालाई २५ हजार पुरस्कार प्रदान गरिएको थियो । विजेता भएको बिवाईएससीले ६ लाख पुरस्कार प्राप्त गर्यो । विजेता खेलाडीहरुको टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, एन्फाका अध्यक्ष पंकज नेम्वाङ्ग, प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङ, हिमश्री फुड्स प्रालिका निर्देशकद्धय प्रकाश केसी र किरण केसी, नेपाल खेलकुद पत्रकार मञ्चका सचिव अन्जन खड्का, मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल लगायतले पुरस्कार वितरण गरे । सहारा क्लवका अध्यक्ष हरिराम गुरुङ(सुरज) को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिकृया दिनुहोस्