Pokharapatra National Daily

पूर्वाधार निर्माणमा महानगर र एनआरएनबीच हातेमालो

पोखरामा सुविधायुक्त सार्वजनिक शौचालय, चमेनागृह जस्ता आधारभूत सहरी पूर्वाधार निर्माणका लागि पोखरा महानगरपालिका र गैरआवसीय नेपाली सङ्घ (एनआरएन) बीच सहकार्य अघि बढेको छ ।
पर्यटक र सर्वसाधारणको सुविधालाई हेरेर पोखरा–९ महेन्द्रपुलमा आधुनिक शौचालय निर्माणका लागि महानगर र एनआरएनबीच सम्झौता भएको छ । शौचालयसहित चमेनागृह र स्तनपान कक्षका लागि रु एक करोड खर्च लाग्ने जनाइएको छ । जसमा ६० प्रतिशत लगानी एनआरएन र ४० प्रतिशत महानगरको रहनेछ । महानगरप्रमुख धनराज आचार्यले तीन महिनाभित्रैमा काम सक्ने लक्ष्यसहित निर्माण अघि बढ्ने बताउनुभयो । आधुनिक सार्वजनिक शौचालयले नागरिकलाई सहज सेवा पुग्नुका साथै वातावरणीय स्वच्छता प्रवद्र्धनमा पनि टेवा पुग्ने उहाँको भनाइ छ ।
अत्याधुनिक सुविधासहित बन्ने शौचालयमा सेनेटरी प्याडसमेत उपलब्ध हुने जनाइको छ । महेन्द्रपुलमा रहेका जीर्ण संरचना हटाएर सोही स्थानमा चमेनागृहसहितको सार्वजनिक शौचालय बनाउन लागिएको हो । एनआरएनका कार्यकारी अध्यक्ष रविना थापाले नागरिकको दैनिक सेवासँग जोडिएको आधुनिक सार्वजनिक शौचालय निर्माणमा महानगरसँगको सहकार्यले आफूहरु उत्साहित बनेको बताउनुभयो । उहाँले सहरी पूर्वाधार र स्वच्छता प्रवद्र्धनका अन्य योजनामा पनि महानगरसँग हातेमालो गर्न एनआरएन तयार रहेको उल्लेख गर्नुभयो ।
सम्झौताअनुसार महानगर र एनआरएनको संयुक्त लगानीमा महेन्द्रपुलको उत्तरतर्फ पाँच आना क्षेत्रफलमा सार्वजनिक शौचालय र चमेनागृह बन्नेछ । उक्त योजनामा एनआरएनले रु ६० लाख र महानगरले रु ४० लाख बराबरको खर्च व्यहोर्नेछ । पोखराका १५ स्थानमा महानगरले बनाएका र ६० बढी स्थानमा साझेदारीमा निर्माण गरिएका सार्वजनिक शौचालय छन् ।
सम्झौता कार्यक्रममा पोखरा महानगरपालिका वडा नं.१७ की वडा अध्यक्ष एवं नेकपा एमाले दलकी नेता राधिका कुमारी शाही योगी र पोखरा महानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीको पनि सहभागिता रहेको थियो । पोखरा महानगरपालिकामा हाल १५ बढी स्थानमा महानगरले निर्माण गरेका सार्वजनिक शौचालय र ६० बढी स्थानमा निजी साझेदारीमा सञ्चालन गरिएका सार्वजनिक शौचालयहरू रहेका छन् ।
महेन्द्र पुलको दक्षिण भागमा भने महानगरपालिकाले अन्तर्राष्ट्रिय झन्डा पार्क निर्माण गर्नेछ । त्यहाँ संयुक्त राष्ट्र सङ्घमा आबद्ध १९५ देश सहित साझेदार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूको झन्डा समेत राखिनेछन् । पार्कको बिच भागमा नेपालको सबैभन्दा ठुलो झन्डा राखिनेछ । विशेष अवसरहरूमा झण्डात्तोलनका लागि सोही स्थानमा कार्यक्रम गरिनेछ ।

प्रतिकृया दिनुहोस्