Pokharapatra National Daily

शिरोमणि लेखनाथ पौड्यालको १३९ औँ जन्मजयन्ती मनाइयो

कवि शिरोमणि लेखनाथ पौड्यालको १३९औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
उहाँकै जन्मस्थल कास्कीको लेखनाथस्थित अघौँ अर्चलेमा आज जन्मजयन्ती मनाइएको हो । कवि शिरोमणि लेखनाथ पौड्याल जन्मस्थल विकास समिति, पोखरा प्रज्ञा प्रतिष्ठान, लेखनाथ साहित्य प्रतिष्ठान लगायतका संस्थाद्वारा आयोजित लेखनाथको १३९औँ जन्मजयन्ती कार्यक्रममा यस क्षेत्रका कवि तथा साहित्यकारको बाक्लो उपस्थिति रहेको थियो । कवि शिरोमणि लेखनाथको जन्म विसं १९४१ पुस १५ गते कास्की जिल्लाको अर्घौ अर्चलेमा भएको हो । जन्मजयन्तीका अवसरमा साहित्य, शिक्षा, सांस्कृतिक तथा पत्रकारिता क्षेत्रमा योगदान पु¥याउनु हुने विभिन्न व्यक्तित्वलाई सम्मान गर्नुको साथै कवितावाचन र लेखनाथले साहित्य क्षेत्रमा पु¥याउनुभएको योगदानका बारेमा चर्चा गरिएको थियो ।
कार्यक्रम गण्डकी प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री खगराज अधिकारीले कवि शिरोमणि लेखनाथ पौड्याल नेपाली भाषा र साहित्यका महान सर्जक भएको बताउनुभयो । ‘लेखनाथ पौड्याल नेपाली भाषीमाझ स्वदेशमा मात्र नभई विदेशमा प्रख्यात हुनुहुन्थ्यो’, नेता अधिकारीले भन्नुभयो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कवि शिरोमणि लेखनाथ पौड्यालले प्रकृति, मानव जीवन, समाज र कलाको माधुर्यतालाई आफ्ना कविताहरूमा भित्रसम्म उधिनेर प्रस्तुत गर्न सक्ने कविको रुपमा चिनिने गरेको बताउनुभयो । लेखनाथका हरेक कविताले प्रज्ञाको ज्योति जगाउँनुको साथै आनन्द दिलाउँने खालका रहेको उहाँको भनाइ थियो ।
साहित्यकार सरुभक्त श्रेष्ठले भन्नुभयो, ‘लेखनाथले कविता मानव जीवनका विषयमा मात्र होइन, मृत्युका विषयमा पनि अकाट्य दार्शनिक कविता कोर्नुभएको छ ।’ प्रकृतिको चित्रण र मनमोहक वर्णन त उहाँको काव्यशिल्पको मुटु नै भएको भनाई श्रेष्ठको छ । साहित्यकार तथा पृथ्वीनारायण क्याम्पस नेपाली विभाग प्रमुख प्राडा कुशुमाकर न्यौपानेले १२ वर्षको उमेरमै कविता कोर्न थाल्नुभएका लेखनाथलाई पोखराको मनोरम प्राकृतिक दृश्यले पनि कवित्व गुणमा ऊर्जा थपिदिएको देखिन्छ । साहित्यकार तथा लोक गायिका हरिदेवी कोइरालाले प्रकृतिको चित्रण गर्ने सन्दर्भमा कवि शिरोमणि लेखनाथ पौड्यालले सबै ऋतुहरूप्रति उच्च सम्मानको गाथा गाउनुभएको भनाइ राख्नुभयो । सो अवसरमा साहित्यकार हरिदेवी कोइरालाले शिरोमणि लेखनाथकी छोरी कुन्तीदेवी भट्टराईले लेखेको कविता वाचन गर्नुभएको थियो । जन्मजयन्तीकै अवसरमा नेपाली भाषा विज्ञानमा विशेष योगदान पु¥याउनुहुने चुडामणि रेग्मीलाई लेखनाथ साहित्य पुरस्कारद्वारा सम्मान गरिएको थियो । उक्त पुरस्कारको राशि ५० हजार रुपैयाँ र सम्मान पत्र रहेको छ ।
त्यस्तैगरी कुन्तिदेवी साहित्य पुरस्कारद्वारा साहित्यकार तथा लोक गायिका हरिदेवी कोइराला र लेखनाथ सांस्कृतिक पुरस्कारद्वारा वेदनाथ अधिकारीलाई सम्मान गरिएको थियो । ती पुरस्कार २५ हजार राशिका हुन् । त्यस्तैगरी पत्रकारिता क्षेत्रमा योगदान पु¥याएको भन्दै पत्रकार सरिता तिमिल्सेनालाई लेखनाथ पत्रकारिता पुरस्कारद्वारा सम्मान गरिएको छ । उक्त पुरस्कारको राशि ११ हजार एक सय ११ रुपैयाँ र सम्मान पत्र रहेको छ ।
त्यसैगरी शिक्षा क्षेत्रमा उत्कृष्ट छात्राछात्रालाई प्रत्येक जन्मजयन्तीमा पुरस्कृत गरिँदै आइएको छ । उक्त कार्यक्रमको सभापतित्व लेखनाथ जन्मस्थल विकास समितिका अध्यक्ष एवं साहित्यकार पदमराज ढकालले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्