Pokharapatra National Daily

गण्डकीका प्रदेशसभा सदस्यको शपथ

नवनिर्वाचित गण्डकी प्रदेशसभा सदस्यले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशसभा सदस्यहरूलाई ज्येष्ठ सदस्य मित्रलाल बस्यालले शपथ गराउनुभएको हो ।
यसअघि गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बुधबार बस्याललाई शपथ गराउनुभएको थियो । शपथग्रहण समारोहमा सदस्यहरू निर्वाचन आयोगबाट निर्वाचित भएको प्रमाणपत्रसहित राष्ट्रिय एवं जातीय पहिचान झल्किने पोशाकमा उपस्थित थिए । साठी सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका २७, नेकपा (एमाले)का २२, नेकपा (माओवादी केन्द्र)का आठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र नेकपा (एकीकृत समाजवादी)का एक सदस्य छन् । प्रदेश प्रमुख गुरुङले यही पुस १८ गते गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान गर्नुभएको छ । शपथग्रहणपछि सदस्य खगराज अधिकारीले गण्डकी प्रदेशको समृद्धि र विकास नै आफूहरूको प्राथमिकतामा रहेको बताउनुभयो । सबै तहका सरकारको उत्तिकै महत्व रहेको उल्लेख गर्दै उहाँले यी निकायबीचको सम्बन्ध राम्रो हुनुपर्नेमा जोड दिनुभयो ।
सदस्य डिल्लीराम सुवेदीले विद्यार्थी आन्दोलनको स्मरण गर्दै आफू सडक आन्दोलनको मोर्चाबाट सदनमा आएको चर्चा गर्नुभयो । शपथसँगै प्रदेशको समृद्धि र विकासका लागि जिम्मेवारी थपिएको बताउँदै उहाँले जनताको भावनाअनुसार अघि बढ्ने विश्वास दिलाउनुभयोे ।
सदस्य सरस्वती गुरुङले प्रदेशसभामा नयाँ उत्साहका साथ आएको उल्लेख गर्दै गण्डकीको समुन्नतिका लागि आफ्नोतर्फबाट प्रयास बढाउने बताउनुभयो ।

प्रतिकृया दिनुहोस्