Pokharapatra National Daily

दोस्रो मेयर कप साइकल दौडको उपाधि हिक्मतलाई

पोखरामा बुधबार सम्पन्न भएको दोस्रो मेयर कप राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि हिक्मत विकले जितेका छन् ।
पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा बुधबार भएको साइकल दौडमा हिक्मतले निर्धारित ५० किलोमिटर दुरी ३ घण्टा १२ मिनेटमा पार गरी उपाधि जितेका हुन् । त्यसै गरी महिला तर्फको विधामा लक्ष्मी मगर र ४० बर्ष माथिका खेलाडी सहभागि प्रतियोगितमा भने नयन मानन्धर विजेता बनेका छन् । ४० वर्षमुनिको पुरुषतर्फ हिक्मत प्रथम हुँदा सन्दिप सुन्दौली द्वितीय र सुमित गुरुङ तृतीय भए । सन्दिपले ३ घण्टा २८ मिनेट ३४ सेकेण्ड र सुमितले ३ घण्टा ४८ मिनेटमा पार गरेको खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । ४० वर्षमुनिको महिलातर्फ लक्ष्मी प्रथम हुँदा सुधा राई द्वितीय र सोफिया विश्वकर्मा तृतीय भए । लक्ष्मीले निर्धारित ५० किलोमिटर दुरी ३ घण्टा ३९ मिनेट ४९ सेकेण्डमा पार गरेकी थिइन् । यो विधामा तीन जनामात्रै प्रतिस्पर्धी भएकाले एक राउण्ड पार गरेका सुधा र सोफियालाई द्वितीय र तृतीय घोषित गरिएको हो ।
४० वर्षमाथिको पुरुष विधामा नयन प्रथम हुँदा देवबहादुर बोहोरा द्वितीय र बाबुराम विश्वकर्मा तृतीय भए । मानन्धरले ३ घण्टा ५१ मिनेट १६ सेकेण्ड, बोहोराले ४ घण्टा १ मिनेट २५ सेकेण्ड र विकले ५ घण्टा ८ मिनेट २७ सेकेण्डमा निर्धारित दुरी पार गरेको खड्काले जानकारी दिए ।
प्रतियोगितामा ४० वर्षमुनिको महिला र पुरुषतर्फ प्रथम हुनेले ३० हजार, द्वितीयले २० हजार र तृतीयले १० हजार रुपैयाँ पुरस्कार पाएका छन् । ४० वर्षमाथिको विधामा प्रथम हुनेले १० हजार, द्वितीयले १० हजार र तृतीयले ५ हजार पुरस्कार पाए । ४० वर्षमुनिको विधामा सान्त्वना हुने दुई जना पुरुष प्रतियोगीले ५÷५ हजार रुपैयाँ सान्त्वना पुरस्कार पाएका छन् । चौँथो भएका सुमन विक र पाँचौ भएका शिवप्रसाद थारुले उक्त पुरस्कार पाएका हुन् ।
पोखरा–२१ कमेरेबाट सुरु भई सोही वडाको मट्टिखान, धुवारकोट, बाघखोर, भालुडाँडा हुँदै पुनः कमेरेमा आएर साइकल दौड समापन भएको थियो । यो रुट दुई फन्को लगाएपछि दुरी पार भएको थियो । नेपाल साइक्लिङ संघ, कास्की जिल्ला साइक्लिङ संघको प्राविधिक सहयोगमा प्रतियोगिता भएको हो । प्रतियोगितामा साइकल सिटी पोखराले पनि सहयोग गरेको थियो ।
विजेता खेलाडीहरुलाई पोखराका मेयर धनराज आचार्य, समितिका अध्यक्ष दीपक गोदार लगायतले पुरस्कार वितरण गरे ।
यस अघि उक्त प्रतियोगिताको उद्घाटन समारोहमा पोखरा महानगरका प्रवक्ता मोतीलाल तिम्सिना,पोखरा २२ का वडा अध्यक्ष हिमलाल बराल, पोखरा २१ का वडा अध्यक्ष दीपक प्रसाद सुवेदी,पोखरा १५ का अध्यक्ष एवं जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरण बहादुर बानिया, पोखरा १७ का वडा अध्यक्ष राधिका कुमारी शाही लगायतको सहभागिता रहेको थियो । यसैबिच, छैटौं संस्करणको टुर दी पोखरामा करिब १ हजार ५ सय जना साइक्लिस्टहरु सहभागि हुने भएका छन्। साइकल सिटी पोखराको आयोजनामा यही पुष ७ देखि ९ गते सम्म हुने टुर दी पोखरामा पोखरा बाहिरका करिब ४ सय जना साइकलिष्ट सहित १ हजार ५ सय जनाको सहभागिता हुने भएको टुर दी पोखराका संयोजक राजन गोङ्गजुले बताए । टुर दी पोखरा अन्र्तगत फ्रान्समा हुने साइकल टुर कै झल्को दिने गरी विहिबार ७२ किलोमिटर दुरीमा बागलुङको कालिका मन्दिरबाट पोखराको विन्ध्यावासिनी मन्दिर जोड्ने गरी यात्रा हुने भएको संयोजक गोङ्गजुले जनाए । उनका अनुसार उक्त यात्रामा करिब एक सय जना सहभागि हुदैछन् ।
स्वास्थ्य, वातावरण र पर्यटनका लागि साइकल भन्ने नाराका साथ साइकल सिटीले टुर दी पोखरा कार्यक्रम हरेक वर्ष आयोजना गर्दै आएको छ । कार्यक्रममा देशका विभिन्न भागबाट साइकल यात्रीहरू सहभागी हुने भएको पोखरा साइकल सिटीका अध्यक्ष अभिषेक कोइरालाले बताए । पुष ९ गते पोखरामा करिब १९ किलोमिटर साइकल र्याली हुने भएको छ भने सोही दिनमै उक्तदान कार्यक्रम समेत हुने भएको साइकल सिटी पोखराका पूर्व अध्यक्ष प्रकाश बज्रचार्यले बताए । पोखराको प्रर्दशनी केन्द्रबाट सुरु भई उक्त र्याली पोखराका विभिन्न भाग परिक्रमा गरी प्रर्दशनी केन्द्रमै पुगेर समापन हुने भएको छ ।

प्रतिकृया दिनुहोस्