Pokharapatra National Daily

संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सञ्चार जगतको उल्लेखनीय योगदानः मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपालको हरेक सवालमा पत्रकारको भूमिका महत्वपूर्ण रहेको भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि पनि सञ्चार जगतले उल्लेखनीय योगदान दिएको बताएका छन् ।
नेपाल पत्रकार महासंघ कास्कीको १६ औं साधारणसभा उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले यस्तो बताएका हुन् । उनले प्रेसमाथि अंकुश लगाउने काम कहि कतैबाट पनि हुन हुँदैन भन्नेमा सरकार स्पष्ट रहेको स्पष्ट पारे । मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेश सरकार प्रेस स्वतन्त्रताका लागि गण्डकी प्रदेश सरकार प्रतिवद्ध रहेको बताए । राज्यका कानून कार्यान्वयनमा पत्रकार जति सक्रिय हुन्छन् त्यति नै राज्यका अंगहरु सचेत हुने उनले बताए । सरकारले गरेका जनहित विपरीतका गतिविधिमा सधैं खबरदारी गर्न र कलम चलाउन आग्रह गर्दै मुख्यमन्त्री पोखरेलले कोरोना कहरमा मिडियाले खेलेको भूमिका कहिल्यै भुल्न नसकिने बताए । पत्रकारले जनताको मन जितेर काम गर्नुपर्नेमा जोड दिंदै उनले गण्डकी प्रदेश सरकार सधैं पत्रकारको साथमा रहेको स्पष्ट पारे । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरलले पोखराको पत्रकारिताले देशमा नै हलचल गर्ने बताए । राज्यले प्रेस स्वतन्त्रतालाई अझै पनि संकुचित बनाउने प्रयास गरिरहेको भन्दै यसका लागि महासंघले खबरदारी गर्नुका साथै पत्रकारको हक हित र सुरक्षामा विशेष ध्यान दिने स्पष्ट पारे । विकास र पत्रकारिता संगसंगै अघि बढ्ने भएकाले गुणात्मक पत्रकारिताका लागि राज्यको ध्यान जानुपर्नेमा उनले जोड दिए ।
श्रमजीवी पत्रकारले ऐन कानूनले तोकेको पारिश्रमिक नपाउने अवस्थामा अझै कायम रहेकाले यसका लागि महासंघले खबरदारी गरिरहेको बताए । पोखरा महानगरपालिकामा प्रमुख धनराज आचार्यले पोखरा महानगरपालिका पत्रकारको क्षमता अभिवृद्धिका लागि पत्रकार महासंघसंग सधंै साथमा रहने प्रतिवद्धता जनाए । कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी कुसुम केशव पराजुली, शान्तिका लागि नागरिक समाज सञ्जालका अध्यक्ष विना सिलवाल, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष पूण्य पौडेल, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष नारायण शर्मा लगायतले बोलेका थिए । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले कोरोना कहरले सञ्चार क्षेत्रमा ठूलो असर पु¥याएको बताइन् । पत्रकार महासंघले कास्कीका पत्रकारहरुको अभिभावकीय भूमिका निर्वाह गर्दै महासंघको गरिमालाई उचो बनाउने काम गरिरहेको उनले स्पष्ट पारिन् ।
आफ्नो कार्यकालमा पत्रकारको क्षमता अभिवृद्धि गर्नका लागि महासंघले ध्यान दिएको भन्दै अध्यक्ष भण्डारीले आगामी दिन पनि यस कार्यक्रमलाई महत्व दिने प्रतिवद्धता जनाइन् । महासंघका अध्यक्ष विमला भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रामप्रसाद तिमल्सेनाले धन्यवाद ज्ञापन र कार्यक्रम सञ्चालन सचिव माधव प्रसाद बरालले गरेका थिए । यसैगरी साधारणसभाले नेपाल पत्रकार महासंघ कास्की शाखाले संस्थागत सुशासन र पारदर्शिता कायम गर्दै सदस्यता शुद्धिकरणलाई निर्ममताका साथ कार्यान्वयन गर्ने, न्यूनतम् पारिश्रमिक कार्यान्वयन गराउन सबै सञ्चार गृहसंग अपिल गर्दैै निरन्तर अनुगमन र खबरदारी गर्ने प्रस्ताव पारित गरेको छ । प्रेस काउन्सिल नेपालले जारी गरेको पत्रकार आचारसंहिता पूर्णरुपमा पालना गर्नका लागि सबै पत्रकारहरुलाई अपिल गर्दै आचारसंहिता पालना भए, नभएको अनुगमन गरि आगामी साधारणसभामा प्रतिवेदन प्रस्तुत गर्ने, पत्रकार महासंघको सचिवालय अपांगमैत्री बनाउने र कास्कीमा सञ्चालित सञ्चारगृहलाई अपांगमैत्री बनाउन आग्रह गर्ने साधारणसभाद्वारा प्रस्ताव पारित गरिएको छ । यस्तै, महासंघका पदाधिकारी तथा सदस्यहरुले बैठकमा प्रस्तुत भएका एजेण्डामाथि लिखितरुपमा छलफलमा सहभागी हुने, बैठकमा उपस्थित हुन नसकेमा अर्को बैठकमा स्पष्टिकरण दिनुपर्ने र बिना जानकारी लगातार तीन वटा बैठकमा उपस्थित नभएमा कार्वाहीको प्रक्रिया अघि बढाउने प्रस्ताव पनि साधारणसभाले पारित गरेको छ । प्रस्ताव समितिमा प्रकाश ढकाल, सन्देश श्रेष्ठ, रोहितराज पराजुली, खीमा गुरुङ, गौरव त्रिपाठी र सुरेश रानाभाट रहेका थिए । साधारणसभामा प्रस्तुत भएको सचिव माधवप्रसाद बरालको प्रगति प्रतिवेदन र कोषाध्यक्ष कृष्ण दवाडीको आर्थिक प्रतिवेदन संशोधनसहित पारित गरिएको थियो ।

प्रतिकृया दिनुहोस्