Pokharapatra National Daily

बसन्त गौचनद्धारा पोखरामा फुटबल एकेडमी स्थापना

नेपाल चर्चित पूर्व राष्ट्रिय फुटबल खेलाडी बसन्त गौचनले पोखरामा ‘बिजि फुटबल एकेडमी’को स्थापना गरेका छन् ।
पोखरा–२७ स्थित रिठ्टेपानीमा उक्त एकेडेमी सञ्चालनमा ल्याएका गौचनको एकेडेमीमा ८ देखि १६ वर्ष उमेर समुहका ६० जनाले दैनिक प्रशिक्षण लिइरहेका छन् ।
लामो समय नेपाली फुटबलमा योगदान दिएका बसन्त यति बेला जापानस्थित फन रुट्स एकेडेमीका प्रशिक्षक समेत हुन् । विगत चार वर्ष देखि उक्त एकेडेमीमा प्रशिक्षकको भूमिका निर्वाह गरेका बसन्तले जापानकै अवधारणामा एकेडेमीलाई अघि बढाउने बताएका छन् । उनले भने–‘फुटबलमा संस्कारको आवश्यक्ता छ । हामीले जापान जस्तो पावर हाउसबाट सिक्नुपर्छ । मैले जापानमा सिकेको कुरालाई यहाँ अघि बढाउने मात्रै नभई त्यहाँ सिकेको कुराहरुलाई यहाँ अघि बढाउन चाहन्छु ।’
फुटबल विकासका लागि अभिभावक समेत उत्तिकै चनाखो हुनुपर्ने कुरा औंल्याउँदै एकेडेमीका अध्यक्ष समेत रहेका बसन्तले खेलाडी उत्पादनका लागि ग्रासरुट प्रशिक्षण अपरिहार्य रहने कुरामा जोड दिए । ‘एन्फाले ग्रासरुट सुरु गरेको थियो । जुन फुटबल विकासका लागि महत्वपूर्ण छ । एन्फाको ग्रासरुट कार्यक्रम जोगाउन सके नेपाली फुटबलले एशियालीस्तरमा नै प्रभावशाली खेलाडी उत्पादन गर्न सक्छ’,उनले भने । एकेडेमी सञ्चालन गर्न सबैको सहयोगको खाँचो रहेको औंल्याउँदै उनले बिजि फुटबल एकेडेमी सबैको साझा थलोको रुपमा विकास गर्ने बताए ।
उक्त एकेडेमीको एक कार्यक्रमका विच अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष वीर बहादुर खड्काले उद्घाटन गरेका छन् । सो अवसरमा बोल्दै वरिष्ठ उपाध्यक्ष खड्काले नेपाली फुटबलको व्यवसायिकताको विकास हुन नसकेको बताउँदै व्यवसायिकता विकासका लागि एकेडेमीहरुको स्थापना महत्वपूर्ण रहने बताए । उनले भने–‘अहिले नेपाली फुटबलमा व्यवसायिकता नभएको साँचो हो । व्यवसायिकताका लागि धेरै खेलाडी उत्पादन हुन आवश्यक छ । त्यही कुरालाई मध्येनजर गर्दै एन्फा एकेडेमीको अवधारणामा अघि बढ्न गम्भिर रुपमा अघि बढेको छ ।’ उनले आगामी मंसिर १० गतेबाट काठमाण्डौमा ८–१८ वर्ष उमेर समुहलाई केन्द्रित गर्दै एकेडेमीको सुरुवात गर्न लागेको जानकारी दिए । सुगम ठाउँ भन्दा दुर्गम भनिएका जिल्लाहरुबाट नयाँ खेलाडीहरु उत्पादन भएको बताउँदै वरिष्ठ उपाध्यक्ष खड्काले कास्कीको फुटबल केही वर्ष यता खस्किंदै गएको प्रति चिन्ता व्यक्त गरे । अहिलेका बालबालिकालाई सहि मार्गमा डो¥याउन नसकेमा उनीहरुको भविष्य अध्याँरो हुनेतर्फ इंगिंत गर्दै विजि फुटबल एकेडेमी त्यसलाई चिर्न सफल हुने उनले बताए । उनले एकेडेमीलाई हरतरहले सहयोग गर्न एन्फा तयार रहेको बताउँदै कुशल खेलाडी संगै राष्ट्रका लागि जिम्मेवार नागरिका उत्पादन गर्न एकेडेमी सफल हुनेमा आफू विश्वस्त रहेको बताए ।
कार्यक्रममा पोखरा २७ का अध्यक्ष पूर्ण बहादुर गुरुङले एकेडेमीको स्थापनाले कास्कीको फुटबल विकासमा कोशे ढुङ्गा सावित हुने बताए । उनले एकेडेमीको विकास र संरक्षणका लागि आफ्नो वडाले सहयोग गर्ने बताउँदै यसका लागि सबै स्थानियहरु जागरुक हुन आह्वान समेत गरे । यसै गरी प्रदेश खेलकुद परिषदका कार्यकारी सदस्य दिल बहादुर गुरुङले कास्कीको फुटबल केही वर्ष यता खस्किएको प्रति चिन्ता व्यक्त गर्दै यस्तै एकेडेमीहरुको स्थापनाले नै फुटबल विकासमा सहयोग पुग्ने उल्लेख गरे । सो अवसरमा एन्फाका पूर्व उपमहासचिव तथा बक्सिङका पूर्व राष्ट्रिय खेलाडी गणेश बहादुर भट्टराई, सहारा क्लव हङकङका अध्यक्ष दिपक गुरुङ, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका उपाध्यक्ष सुरज श्रेष्ठलगायतले व्यवसायिक फुटबल खेलाडी उत्पादनमा संगै नेपाली फुटबल विकासका लागि बिजि फुटबल एकेडेमी महत्वपूर्ण हुने बताए ।
सो अवसरमा एकेडेमीमा प्रशिक्षण लिइरहेका बालक विगेन भाग्य भुजेललाई छात्रवृत्ति समेत प्रदान गरिएको छ । पोखरा २७ रिठ्टेपानीमा सञ्चालनमा ल्याएको बिजि फुटबल एकेडेमी १५ रोपनी क्षेत्रफलमा फैलिएको छ । दिनमा करिव २ सय जनालाई एकैपटक प्रशिक्षण दिन सकिने उक्त एकेडेमीको आफ्नै फुटबल मैदान संगै चेन्जिङ रुम, स्टोर रुम, अफिस कोठा, शौचालयलगायतका पूर्वाधारहरु समेत निर्माण भइसकेका छन् ।
तिन महिना अघिबाट प्रशिक्षण दिन सुरु गरिएको उक्त एकेडमीलाई भविष्यमा जापानको फनरुट्स सहित जर्मनीको जुगेन्ड फुटबल एकेडेमी, कोलोन संग द्विपक्षिय सम्वन्ध विस्तारका लागि सम्झौता समेत गरिसकिएको छ । एकेडेमीको निर्देशकमा एन्फा प्रशिक्षक राजेन्द्र तामाङ र मुख्य प्रशिक्षकमा शम्भु केसी रहेका छन् ।

प्रतिकृया दिनुहोस्