Pokharapatra National Daily

रुपामा दीपक कोइरालालाई ‘वान्स अगेन’

कास्की निर्वाचन क्षेत्र नम्बर १ को १ अन्तर्गत रुपा गाउँपालिका–५ देउरालीमा आइतबार पाँच दलीय गठबन्धनको चुनावी सभा थियो । गठबन्धनका तर्फबाट उम्मेदवार दीपक कोइरालाको बोल्ने पालो आयो । उनी मञ्चमा झुल्किने वित्तिकै दर्शकबाट कसैले नारा लगायो, ‘दीपक कोइराला, वान्स अगेन ।’
चुनाव सभामा चर्को स्वरमा कोइरालाको पक्षमा नाराबाजी गर्ने स्थानीय अप्सरा श्रेष्ठ थिइन् । पाँच वर्षमा रुपामा कोइरालाले गरेका विकास निर्माणका काम देखेर पुनः जिताउनुपर्छ भन्ने आशयले आफूले ‘वान्स अगेन’ को नारा लगाएको उनले बताइन् । ‘अब ३०औं वर्षदेखि चुनाव लड्नेलाई नो नट अगेन भन्ने हो,’ उनले भनिन्, ‘दीपक कोइरालाजस्तो युवा नेतालाई वान्स अगेन नै भन्नुपर्छ ।’ रुपामा कोइराला सांसद हुँदा थुप्रै विकास निर्माणका योजना सुरु भएकाले तिनलाई पूरा गर्न फेरि उनले जित्नुपर्ने श्रेष्ठको तर्क छ ।
देउरालीकै स्थानीय निसान श्रेष्ठले अहिलेको समयले युवा कै माग गरिरहेकोले आफ्नो भोट दीपक कोइरालालाई नै जाने बताए । ‘यहाँबाट वर्षौं जनप्रतिनिधि भएकाबाट परिवर्तनको महसुस त्यति भएको थिएन, जुन यो पाँच वर्षमा भयो,’ उनले भने, ‘म मात्रै होइन, घर परिवार, इस्टमित्र, साथीसंगी सबैलाई दीपक कोइरालालाई भोट हाल्न लगाउने हो ।’ रुपा रिङरोडको परिकल्पनाकार कोइराला नै रहेको र १० किलोमिटर कालोपत्रे भइसकेको अवस्थामा बाँकी बाटो कालोपत्रे गर्न पनि उनी नै निर्वाचित हुन आवश्यक रहेको श्रेष्ठको तर्क छ । चुनावी सभामा बोल्दै उम्मेदवार कोइरालाले विकास निर्माणका आफ्ना योजनालाई पूरा गर्न न्युनत १० वर्षको समय आवश्यक ठानेर पुनः जनताको बीचमा आएको बताए । ‘यो पाँच वर्षको अनुभवले अब अर्को पाँच वर्ष द्रूत गतिमा काम गर्ने जोशजाँगर मसँग छ,’ उनले भने, ‘अर्को पाँच वर्ष राम्रो काम गरिन भने नो नट अगेन भन्नुहोला ।’ प्रदेशसभामा निर्वाचित भएर काम गर्न नसके अर्कोपल्टदेखि आफैले ‘नो नट अगेन’ भन्ने उनको भनाइ थियो । ‘मैले प्रतिवद्धता जाहेर गरेका अधिकांश काम यो पाँच वर्षमा भयो,’ उनले भने, ‘पहिला पनि जनताकै साथमा थिए, अब फेरि जनताकै बीचमा आएको छु ।’
पाँच दलीय गठबन्धनबाट कास्की १ मा प्रतिनिधिसभा उम्मेदवार कांग्रेसका किशोरदत्त बराल, समानुपातिक उम्मेदवार माओवादी केन्द्रकी जुबेदा खातुन, कांग्रेसका सहमहामन्त्री जीवन परियार, कांग्रेस नेता यज्ञबहादुर थापा, कृष्ण केसीले राजनीतिक स्थिरता र समृद्धिको लागि गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्नेमा जोड थिए । गठबन्धनका उम्मेदवार एवं नेताले आइतबार रुपा–५ को देउराली, वडा नम्बर ६ का बरथोक, मियागाउँ, भीरचोक, फालभञ्ज्याङ, मोहोरिया, चिसापानी, माझकोट लगायत स्थानमा घरदैलो गरे ।

प्रतिकृया दिनुहोस्