Pokharapatra National Daily

नवौं राष्ट्रिय खेलकुदको प्रचार अन्तर्राष्ट्रियस्तरमाः मन्त्री गहतराज

नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नवौं राष्ट्रिय खेलकुद–२०७९ को प्रचारप्रसारमा संचारकर्मीले खेलेको भूमिकाको प्रशंसा गरेका छन् ।
राष्ट्रिय खेलकुद परिषद्ले शुक्रबार संचारकर्मीसँग आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गहतराजले राष्ट्रिय खेलकुदलाई साँच्चिकै राष्ट्रिय खेल बनाउन र अन्तर्राष्ट्रियस्तरसम्म प्रचारमा संचारकर्मीले महत्वपूर्ण भूमिका खेलेको बताएका हुन् ।
राष्ट्रिय खेलकुदका लागि जति पूर्वाधार बन्नुपर्ने हो त्यो बन्न नसकेको स्वीकार्र्दै उनले आगामी दिनमा बन्छ भन्ने बुझिदिन समेत आग्रह गरे । उनले भने, ‘कोभिड–१९ ले पारेको प्रभाव, राखेपसम्बन्धी अदालती प्रक्रियाले पारेको असर, राष्ट्रिय खेलकुदको चलायमान र गतिशीलतालाई सुनिश्चित गर्नुपर्छ भन्ने सोच राख्दै अलि छिटो गर्न खोज्दा जति पूर्वाधार बन्नुपर्ने हो त्यो बन्न सकेन । आगामी दिनमा बन्ने नै छ ।’ उनले राखेपका एजेण्डा र वार्षिक कार्यक्रममा भएका पूर्वाधार आगामी दिनमा बजेट, श्रोत सुनिश्चित गराएर निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
राखेप सदस्यसचिव टंकलाल घिसिङले गण्डकीका खेलकुद पत्रकारले व्यवस्थित र जिम्मेवार हिसाबले कार्यसम्पादन गरेकोप्रति धन्यवाद व्यक्त गरे । उनले पोखरामा यस अगाडिका प्रतियोगितामा भन्दा मिडिया सेन्टर व्यवस्थित कार्यसम्पादन, क्रियाशीलता र खटनका हिसाबले उत्कृष्ट पाएको बताए । उनले गण्डकीका पत्रकारको कार्यसम्पादन, क्रियाशीलता र खटनको उच्च मूल्यांकन नेपाली खेलकुदले गर्ने बताए ।
नेपाल खेलकुल पत्रकार मञ्च गण्डकी अध्यक्ष दीननाथ बरालले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताबाट बन्न नसकेका पूर्वाधार निर्माणमा विशेष ध्यान दिन आग्रह गरे । उनले पोखरामै स्वीमिङ पुल र सुटिङका पूर्वाधार आवश्यक रहेकोमा जोड दिंदै खेलकुद पत्रकार मञ्चले बर्सेनि आयोजना गर्ने स्पोर्टस् अवार्डमा राखेपको सहयोग निरन्तरतामा जोड दिए । गण्डकीमा २८ असोजदेखि ३ कात्तिकसम्म भएको नवौं राष्ट्रिय खेलकुदमा ३६ खेलमा ३९६ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । जसमा आर्मी च्याम्पियन बन्यो । प्रतियोगिताको उपराष्ट्रपति नन्दबहादुर पुनले पोखरा रंगशालामा आयोजित भव्य समारोहबीच उद्घाटन गरेका थिए भने समापनमा प्रधानमन्त्री शेरबहादुर देउवा आएका थिए ।

प्रतिकृया दिनुहोस्