Pokharapatra National Daily

चित्रे भञ्ज्याङ सम्पर्क मञ्च कास्कीमा लम्साल

चित्रे भञ्ज्याङ सम्पर्क मञ्च कास्कीको अध्यक्षमा बुद्धिराम लम्साल निर्वाचित हुनुभएको छ । समितिको १४ औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशनबाट आगामी कार्यकालका लागि लम्सालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ ।
जस अन्तर्गत समितिको उपाध्यक्षमा सु.पूर्णबहादुर थापा, सचिवमा रुद्रबहादुर थापा सन्देश, कोषाध्यक्षमा क्या. कान्तबहादुर थापा र सहसचिवमा श्रीमती चन्द्र थापा निर्वाचित हुनु भएको छ । त्यसैगरी मञ्चको सदस्यहरुमा क्या. भूपेन्द्रसिंह थापा, नारायण भण्डारी, याम कुमारी राना, याम बहादुर सुनार, गोमा के.सी. र रेखा राना निर्वाचित हुनुभएको छ ।
सो साधारण सभाको उद्घाटन गर्दै विशिष्ट अतिथि स्याङ्जाली सम्पर्क सदन पोखराका संस्थापक अध्यक्ष रामप्रसाद श्रेष्ठले मञ्चले सुखमा भन्दा दुःखको अवस्थामा पोखरामा रहेका त्यस क्षेत्रका व्यक्तिहरुलाई सहयोग गर्ने बताए । यसैगरी प्रमुख अतिथि स्याङ्जाली सम्पर्क सदनका अध्यक्ष ताराप्रसाद गौतम सुनारले मञ्चले समाजिक काम गर्दै त्यस क्षेत्रका सबै व्यक्तिहरुलाई समेटेर अगाडि बढ्नुपर्ने बताए । मञ्चका अध्यक्ष क्या. नरेश थापाले मञ्चले समाजिक एवं सांस्कृतिक क्षेत्रमा काम गर्दै आएको र आगामी दिनमा अझ सक्रिय भएर सबैलाई समेटेर लैजाने बताउनु भयो । सो अवसरमा विशेष अतिथि स्याङ्जाली सम्पर्क सदन पोखराका संस्थापक सचिव बद्रिप्रसाद आचार्य, अतिथि सु. महेश कुमार थापा, बालकृष्ण राना, मञ्चका सल्लाहकार ओमबहादुर थापा, सल्लाहकार होमबहादुर थापा, भुवन थापा, सिर्जना थापा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा राष्ट्र सेवक कर्मचारी सम्मानमा कलावती थापा, भुवन थापा र छलिमाया थापालाई सम्मान गरिएको थियो भने उच्च शिक्षा सम्मान, जेष्ठ नागरिक सम्मान लगायतबाट समेत विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष क्या. नरेश थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वार्षिक प्रगति विवरण सचिव बुद्धिराम लम्सालले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष रिम रानाले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव रुद्रबहादुर थापा सन्देशले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्