Pokharapatra National Daily

नेपाल उद्योग व्यवसायी महासंघले प्रथम वडा स्तरीय फुटसल प्रतियोगिता गर्ने

“सफल व्यवसायीका लागि स्वास्थ्य, स्वास्थ्यका लागि खेलकुद” भन्ने नारा सहित नेपाल उद्योग ब्यवसायी महासंघ पोखरा महानगर कमिटिले पोखरामा फुटसल प्रतियोगिता गर्ने भएको छ ।
पोखरा रंगशालामा कात्र्तिक १७, १८ र १९ गते प्रथम वडा स्तरीय फुटसल प्रतियोगिता आयोजना गर्ने लागिएको महानगर कमिटिका महासचिव हेमराज भण्डारीले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो । उहाँका अनुसार खेलकुदको माध्यमबाट विभिन्न पेशा ब्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरु बीच आपसी मित्रता अभिवृद्धि गरी व्यवसायीक एकतालाई मजबुत बनाइ स्वस्थ्य रहन अभिप्रेरित गर्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।
गण्डकी प्रदेशको कास्की जिल्लालाई खेलकुद हवको रुपमा चिनाउन साथै खेल प्रतिको उत्साहलाई जगाउन महानगरको प्रत्येक वडामा फुटसलको विकास गर्ने उद्देश्य रहेको प्रतियोगिताका संयोजक तुलबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार ३३ वटै वडाबाट सहभागि हुनका लागि वडाले सिफारिस गरेको टिम हुनुपर्नेछ भने केही व्यवसायिक खेलाडिहरुलाइ समेत टिममा सहभागि गराउन पाइने छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख र द्धितिय हुने टिमले नगद ५० हजारसहित ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन् । साथै खेलमा उत्कृष्ट खेलाडि, गोलकिपर र हाइ स्कोर गर्नेलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ ।
कार्यक्रममा करिव सात लाख खर्च हुने र विभिन्न विज्ञापनदाताबाट सहयोग लिएर करिब दश लाख रुपैयाँ संकलन गरि तीन लाख रुपैयाँ बचत गर्ने उद्देश्य रहेको नेपाल उद्योग ब्यवसायी महासंघ पोखरा महानगर कमिटि अध्यक्ष हरी भुजेलले जानकारी दिनुभयो । उहाँले खेलबाट बचेको रकमलाई व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरिने बताउनुभयो । पोखरालाई खेल पर्यटनको रुपमा विकास गर्ने साथै नयाँ नयाँ खेलाडि उत्पादन गर्नमा समेत यस्ता गतिविधिले सहयोग पुग्ने उहाँको विश्वास थियो ।

प्रतिकृया दिनुहोस्