Pokharapatra National Daily

‘प्रविधिसँग जोडेर रोजगारमूलक शिक्षामा जोड दिनुपर्छ’

गण्डकी विश्वविद्यालयका कुलपति प्रा डा गणेशमान गुरुङले शैक्षिक क्षेत्रलाई प्रविधिसँग जोडेर रोजगारमूलक शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ ।
पोखरा महानगरपालिका–२७ तालचोकस्थित त्रिवेणी इन्टरनेशनल कलेजको सातौँ वार्षिक साधारणसभामा उहाँले परम्परागतभन्दा नवीनतम् शैक्षिक विधि–प्रविधिको प्रयोग गर्दै समयसापेक्ष रोजगारमूलक शिक्षालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । “शिक्षालाई समाज र बजारसँग जोड्ने अभिप्रायका साथ व्यवहारिक ज्ञान प्रदान गर्नु आजको आवश्यकता हो”, उहाँले भन्नुभयो । कलेज व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य सङ्घका सदस्य बाबुराम गिरीले निजीस्तरबाट सञ्चालित कलेजले शैक्षिक गुणस्तरमा कुनै कमी हुन नदिएको धारणा राख्नुभयो । कलेजका व्यवस्थापन समितिका अध्यक्ष सुमन भट्टराईले कलेजको समग्र शैक्षिक उन्नयन नै समितिको एक मात्र लक्ष्य रहेको बताउँदै नमूना शैक्षिक संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्राचार्य यदुनाथ आचार्यले समयसापेक्ष शैक्षिक गुणस्तरसँगै विद्यार्थीलाई आवश्यक भौतिक पूर्वाधार तय गर्दै कास्की जिल्लाकै उत्कृष्ट कलेज बनाउन आफूहरू लागिरहेको बताउनुभयो ।
संस्थाका पूर्वअध्यक्ष राजेन्द्रमणि लामिछाने, पोखरा विश्वविद्यालयका पूर्वडिन इन्द्रप्रसाद तिवारी, लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष छत्रधर आत्रेय, अमरसिद्ध नमूना माविका प्रधानाध्यापक विष्णुप्रसाद पौडेल, हिसान कास्कीका अध्यक्ष प्रेमबहादुर रोक्का, पूर्वविद्यार्थी एशोसिएशनका अध्यक्ष रामकृष्ण लामिछाने, विद्यार्थी कल्याणकारी सङ्घका अध्यक्ष सृष्टि तिवारी, सहायक क्याम्पस प्रमुख डिल्लीराम पौडेललगायतले प्रविधिमा आधारित गुणस्तरीय शिक्षा अहिलेको आवश्यकता भएको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्