Pokharapatra National Daily

पोखरामा अन्तर्राष्ट्रियस्तरको चित्रकला प्रदर्शनी

वरिष्ठ काटुर्निष्ट दुर्गा बराल (वास्त्यायन) भन्नुहुन्छ पानी रङका चित्र खारिएका कलाकारले मात्र कोर्न सक्छन् । नयाँ चित्रकारलाई पानी रङको चित्र कोर्न कठिन छ, यस्ता रङका चित्र जो–कोही चित्रकारले कोर्न सक्दैनन् । पुराना चित्रकारले भने यी रङका चित्र सजिलै कोर्न सक्छन् किनकि प्राचीनकालदेखि नै पानी रङका चित्र मात्र कोर्ने प्रचलन थियो, अन्य रङको विकास भइसकेको थिएन ।
पोखराको बगरस्थित गण्डकी प्रज्ञा प्रतिष्ठानको सभाहलमा शनिबारदेखि अन्तर्राष्ट्रियस्तरको तीनदिने चित्रकला प्रदर्शन सुरु भएको छ । त्यही कार्यक्रममा सम्मानित भएपछि बरालले भन्नुभयो, “पानी रङका चित्र कोर्न जो कोहीले सक्दैन, पछिल्ला समय विभिन्न तेल रङ, ग्वास पेन्टिङको विकास भएपछि ती रङबाट चित्र कोर्न सजिलो भएको छ ।” अन्तर्राष्ट्रिय जलरङ समाज (आइडब्लुएस) नेपालद्वारा आयोजित तथा गण्डकी प्रज्ञा प्रतिष्ठानको समन्वयमा शनिबारदेखि पोखरामा तीनदिने अन्तर्राष्ट्रियस्तरको पोखरा आर्ट क्याम्प चित्रकला प्रदर्शनी सुरु भएको छ । चित्रकला प्रदर्शनीमा नेपाल, भारत, बङ्गलादेश र इराकका एक सय १८ चित्रकारको सहभागिता रहेको जानकारी समाजका अध्यक्ष एनबी गुरुङले दिनुभयो । नेपालका विभिन्न जिल्लाबाट ९० र अन्य तीन देशका २८ चित्रकार चित्रकला प्रदर्शनीमा सहभागी छन् । पहिलो दिन उनीहरूले प्रतिष्ठानको सभाहलमा आफ्नै किसिमबाट आ–आफ्नो देशका चित्र कोर्ने छन् भने उत्कृष्ट १० चित्रलाई पुरस्कृतसमेत गरिने छ । त्यस्तै दोस्रो दिन आइतबार कास्कीको माछापुच्छ«े गाउँपालिकास्थित घाचोकमा लगेर उनीहरूलाई त्यहाँको प्रकृतिका चित्र कोर्न लगाइने र तेस्रो दिन सोमबार पोखराको पुम्दीकोट र कास्कीकोटमा लगेर ती कलाकारलाई त्यहाँको प्रकृतिका चित्र कोर्न लगाइने जानकारी समाजका अध्यक्ष गुरुङले दिनुभयो ।
पोखरा आर्ट क्याम्पको शुभारम्भ गर्दै सङ्घीय सांसद तथा पूर्वस्वास्थ्य तथा गृहमन्त्री खगराज अधिकारीले कला हरेक मानिसको जीवनसँग जोडिने विषयवस्तु भएकाले यस्ता चित्रले नेपाललाई अन्तर्राष्ट्रियरूपमा चिनाउने बताउनुभयो । शुभारम्भ कार्यक्रममा चित्रकलामा उत्कृष्ट योगदान पु¥याएवापत वरिष्ठ कलाकार दुर्गा बराल (वात्स्यायन), हरिराम जोजिजु र युकेश विकलाई सम्मान गरिएको थियो ।

प्रतिकृया दिनुहोस्