Pokharapatra National Daily

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा पवन प्रजापति

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा पवनकुमार प्रजापति विजयी भएका छन् । आइतबार साँझ आएको अन्तिम मत परिणामाअनुसार प्रजापति एकहजार ६१३ मत ल्याएर संघको अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनले प्रतिष्पर्धी अर्जुन पोखरेललाई ७१६ मतले पराजित गरे । पोखरलले ८९७ मत प्राप्त गरे । प्रजापति यसअघि संघको वरिष्ठ र पोखरले वाणिज्य उपाध्यक्ष थिए । प्रजापतिको प्यानलबाट उपाध्यक्षबाहेका सबै पदाधिकारी र साधारण सदस्यतर्फ १० जनामध्ये ७ जना विजयी बने । नयाँ समितिको कार्यकाल २ वर्षको हुनेछ । वरिष्ठ उपाध्यक्षमा पनि पवन समूहका गोकर्ण कार्की विजयी बने । गोकर्णले १७ सय ७६ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी हरिहर सापकोटाले ७३८ मत प्राप्त गरे । उद्योगतर्फको उपाध्यक्ष देवेन्द्र केसी १७९१ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी हिरामणि पण्डितले ७२० मत ल्याए । वाणिज्यतर्फको उपाध्यक्षमा उत्तममान बुद्धाचार्यले ९६९ मत प्राप्तगर्दा उनका निकटतम प्रतिद्वन्द्वी सोवित पौडेलले ८७८ र अर्की प्रतिस्पर्धी कुमारी मुना बास्तोलाले ६४८ मत प्राप्त गरिन् । विजयी बनेका उत्तम पवनको समूहबाट मैदानमा उत्रेका थिए भने सोवित स्वतन्त्र र कुमारी मुना अर्जुनको प्यानलमा थिइन् ।
त्रिपक्षीय प्रतिस्पर्धा रहेको महासचिवमा बलराम आचार्य विजयी भए । उनले ९१० मत प्राप्त गरे भने निकटतम प्रतिस्पर्धी केशवबहादुर खत्रीले ८२९ मत ल्याए । अर्का प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार तारानाथ ढुंगानाले ७५९ मत प्राप्त गरे । कोषाध्यक्षमा १५९९ मतसहित दिनेशचन्द्र बास्तोला विजयी हुँदा प्रतिस्पर्धी हरिराज पन्तले ९०५ मत प्राप्त गरे । उपमहासचिवमा शोभा गौतम १७५५ मतसहित विजयी बनिन् । उनका प्रतिस्पर्धी हर्कबहादुर अधिकारीले ७५८ मत ल्याए ।
कार्यसमिति सदस्यमा प्रभा सुवेदी, बालकृष्ण कोइराला, सुदीप प्रधानाङ्ग, दिलिपकुमार श्रेष्ठ, भरत केसी, कृष्णप्रसाद कोइराला, भीम गौतम, माधव बस्ताकोटी, मनोजकुमार श्रेष्ठ र सुदीप ओझा विजयी बने । कुल १९ जनाले साधारण सदस्यमा उम्मेदवारी दिएका थिए । संघको शनिबार सम्पन्न निर्वाचनकोका लागि ३१ सय ४३ जना मतदाता रहेका थिए भने तीमध्ये २५ सय ४९ जनाले मतदानमा सहभागिता जनाएका थिए ।

प्रतिकृया दिनुहोस्