Pokharapatra National Daily

भूतपूर्व सैनिक नेपाल–भारत सम्बन्धको आधारस्तम्भ

भारतीय सेनाध्यक्ष मनोज पाण्डेले भारतीय सेनाका भूतपूर्व नेपाली सैनिक दुई देशबीचको सम्बन्धको आधारस्तम्भका रूपमा रहेको बताउनुभएको छ ।
नेपाल भ्रमणमा रहनुभएका पाण्डेले बुधबार पोखराको रामबजारस्थित भारतीय पेन्सन क्याम्पमा आयोजित समारोहलाई सम्बोधन गर्दै भूतपूर्व सैनिकले दुई देशबीचको वर्षांैदेखिको सम्बन्धलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । कर्तव्यनिष्ठ र इमान्दारी नेपाली भूतपूर्व सैनिकको विशिष्टता रहेको उल्लेख गर्दै उहाँले भूतपूर्व सैनिकको कल्याणकारी योजनाका लागि भारतीय सेना निरन्तर लागिरहेको बताउनुभयो । भूतपूर्व सैनिकले प्राप्त गर्ने पेन्सनलगायतका सेवा सुविधालाई पनि भारतीय सेनाले सहज र सरल बनाइरहेको उहाँले बताउनुभयो । भारतीय सेनामा ३५ हजार गोर्खा सैनिक सेवारत रहेको र एक लाख २५ हजार भूतपूर्व सैनिक रहेको उहाँले जानकारी दिनुभयो । नेपाल र भारतबीच सांस्कृतिक, आहारविहार आदिमा समानता रहेको र खुला सिमानाका कारण दुवै देशका नागरिक सहजरूपमा आवतजावत गर्दै आएको उहाँले बताउनुभयो ।
उक्त अवसरमा उहाँले भारतीय सेनामा कार्यरत रहँदा वीरगति प्राप्त गरेका सैनिकका परिवारजनलाई नगद, चेक तथा सामग्री हस्तान्तरण गर्नुभयो । साथै उहाँले दुर्गममा बस्ने भूतपूर्व सैनिकको स्वास्थ्योपचारलाई लक्षित गरी तीन वटा मोबाइल मेडिकल युनिटको चाबी हस्तान्तरण गर्नुभयो । कार्यक्रममा सेनाध्यक्ष पाण्डेले भूतपूर्व सैनिक र परिवारजनसँग भेट गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्