Pokharapatra National Daily

कास्की क्षेत्र नं १(ख)मा सिग्देलको उम्मेद्वारी

नेपाली काँग्रेस कास्कीका युवा नेता नवीन सिग्देलले आगामि मंसिर ४ गते हुने निर्वाचनका लागि आफ्नो उम्मेद्वारी घोषणा गर्नुभएको छ ।
कास्की क्षेत्र नं १(ख) बाट प्रदेश सभा सदस्यमा उहाँले उम्मेद्वारी घोषणा गर्नुभएको हो ।
उहाँले नेपाली काँग्रेस प्रदेश कार्यसमिति समक्ष सोमबार उम्मेद्वारी दर्ता गर्नुभएको छ । सिग्देल हाल नेपाली काँग्रेस कास्कीको सहसचिव हुनुहुन्छ । ‘जनताले चिनेको र भुगोलले बुझेको व्यक्ति म नै हुँ, उहाँले भन्नुभयो, पार्टीमा निरन्तरता, प्रतिवद्वता, क्रियाशीलता र लोकप्रियताको मुल्यांकन गरी पार्टीले न्याय गर्ने विश्वास छ । उहाँले इमान्दार, निष्ठावान, त्यागि नेता तथा कार्यकर्ताको मनोबल उठाउन र राजनीति व्यापार नभई समाजसेवा भएको स्थापित गर्न पनि आफूले उम्मेद्वारी प्रस्तुत गरेको स्पष्ट पार्नुभयो ।
पोखरा १३ निवासी सिग्देल २०५५ सालदेखि निरन्तर रुपमा राजनीतिमा सक्रिय हुनुहुन्छ ।
२०५५ सालमा नेपाल विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पसको प्रचारप्रसार उपसमितिको सदस्य हुँदै आफुलाई निरन्तर रुपमा क्रियाशील राख्दै आउनुभएको छ ।
२०५७ सालको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघको तर्फबाट स्ववियु सदस्य र २०६१ मा स्ववियु सभापतिको उम्मेद्वार बन्नुभयो । नेपाल विद्यार्थी संघको जिल्ला सदस्य हुँदै सभापति बन्नुभयो । २०६७ सालमा नेपाल विद्यार्थीको राजनीतिबाट विश्राम लिएर काँग्रेसको राजनीतिमा प्रवेश गर्नुभयो ।
१२ औं महाधिवेशनमा नेपाली काँग्रेस क्षेत्र नं २ कास्कीको क्षेत्रीय सदस्य, १३ औं महाधिवेशनमा नेपाली काँग्रेस कास्कीको जिल्ला सदस्य निर्वाचित हुनुभयो ।
उहाँलाई कास्की काँग्रेसले दिएको जिम्मेवारी अनुसार, करिब तीन वर्ष पार्टीको प्रवक्ताका रुपमा पनि काम गर्नुभएको छ । १४ औं महाधिवेशनमा उहाँ जिल्लाको सहसचिव पदमा निर्वाचित हुनुभएको हो ।

प्रतिकृया दिनुहोस्