Pokharapatra National Daily

जीवन रक्षा कोषको कार्यान्वयन छिट्टै ः अर्थमन्त्री किरण गुरुङ

पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिवेशन शुक्रबारबाट सुरु भएको छ । महाधिवेशनको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले समुद्घाटन गर्दै गण्डकी सरकारले स्थापना गरेको व्यवसाय जीवन रक्षाकोषलाई छिट्टै कार्यान्वयनमा ल्याइने बताए । गण्डकी प्रदेश सरकारले बजेट भाषणमार्फत् कोभिड–१९ को प्रकोपबाट पीडित भएका व्यवसायीको जीवन रक्षाको लागि भन्दै १ अर्ब रुपैयाँको व्यवसाय जीवन रक्षा कोष घोषणा गरेको बताए । गुरुङले पोउवा संघमा राजनीतिभन्दा माथि उठेर समग्र व्यवसायीको हकहितका लागि काम गर्नुपर्ने बताए । यो क्षेत्र व्यवसायीक क्षेत्र हो, उनले भने, देशको आर्थिक विकासमा निजी क्षेत्रको ठूलो महत्व छ । अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको निजी क्षेत्रमा राजनीति छाँयाले असर गर्ने भएकोले व्यवसायीको हकहितको पक्षामा नै लाग्नुपर्छ । अर्थमन्त्री गुरुङले राजनीतिक आस्था फरक भएपनि साझा हितका लागि व्यवसायीहरुलाइ मिलेर अगाडि बढ्नुको विकल्प नभएको बताए । उनले व्यवसायीलाइर्ह निराश नबन्न पनि आग्रह गरे । उनले भने, अब देशको अर्थतन्त्रले गति लिने बेला भएको छ, कोरोनाका कारण समस्यामा परेको नेपाल सधैं पहिले जस्तो अवस्थामा रहन्न, यसले देशको अर्थतन्त्रमा असर पुर्याएको छ । विश्वका शक्तिशाली राष्ट्र समेत चुकेका छन् । अब विस्तारै उठ्ने बेला आएको छ ।
सरकार व्यवसायीको साथमा रहेको बताउँदै उनले भने, आत्तिनु हुँदैन, सरकार तपाँइको साथमा छ । उनले मध्यावधि चुनावमा जान पाइदैन भन्ने कुरालाई संविधानले रोकथाम गर्न नसक्ने बताए । अन्तराष्ट्रिय स्तरमा समेत यसको धेरै प्रयोग भएको उदाहरण दिदैं उनले भने, अमेरिकामा डोनाल्ड ट्रम्प चुनावमा पराजित भएपछि पद नछाड्नु तानाशाही भनिने तर पौष ५ गते प्रधानमन्त्री ओलीले गरेको निर्णयलाई तानाशाही भन्न नमिल्ने बताए । मन्त्री गुरूङले पार्टीको विधिमा नै अराजकता आएपछि अहिलेको अवस्था सिर्जना भएको बताए ।
जनवादको नाममा आफ्नै सरकारलाई ढाल्न अविश्वासको प्रस्ताव लिएर जाने सोचले समस्या निम्ताएको उनको बुझाई रहेको छ । अर्थमन्त्री गुरुङले तीन तहको सरकार आएपछि अधिकार प्रत्यायोजनको हकमा भने फितलो पाएको गुनासो गरे । उनले भने, ‘संघीय सरकारमा स्पष्ट कानुन नबन्दा प्रदेश सरकारलाई काम गर्न अफ्ठ्यारो भइरहेको छ । प्रदेश र स्थानिय सरकारले समेत अधिकारलाई पूर्णतया पालना गर्न पाइरहेको अवस्था छैन ।’ विस्तारै संघसंस्थालाई पनि लोकतान्त्रिक प्रणालीका आधारमा अगाडि बढाउनुपर्ने उनले बताए ।
नेपाल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले प्रत्येक दुई अथवा तीन वर्षमा हुने निर्वाचन निजी क्षेत्रका लागि घातक भएको बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पौष ५ गते संसद भंग गरि आगामी बैशाखमा गर्ने भनिएको मध्यावधि निर्वाचनले नेपालको अर्थतन्त्रलाई धरापमा पार्ने धारणा व्यक्त गरेका छन् । नीजि क्षेत्रको अवस्थाका विषयमा नेपालको नेताहरुले नबुझ्नु बिडम्बना भएको बताए ।
मुल्मीले कुनै एउटा निश्चित पार्टीले मात्र सरकार बन्न नसक्ने बताएका छन् । अहिले भइरहेको आन्दोलनले नीजि क्षेत्रलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा असर पुग्ने तर्क उनको छ । “एकातिर कोरोना महामारीले नीजि क्षेत्रलाई प्रताडित बनाएको र अर्को तर्फ नेकपाको आन्तरिक विवादका कारण उत्पन्न समस्याले जटिल मोड ल्याएको छ । मुल्मीले नेपालको नीजि क्षेत्र अनिश्चयको बाटोमा धकेलिएको बताउँदै नीजि क्षेत्रको लगानीलाई जोगाउनुपर्ने दायित्व सबैको रहेकोमा जोड दिए । नेपाल उद्योग बाणिज्य संघ जिल्ला नगरका उपाध्यक्ष दिनेश श्रेष्ठले कोभिडबाट समस्यामा परेको अर्थतन्त्रलाई माथि उठाउन आफूहरुले विज्ञहरु राखेर कन्सेप्ट तयार गर्दै गरेको जानकारी गराए । उनले सम्पूर्ण व्यवसायीहरुले एकता देखाएर आफ्ना मागहरु पुरा गर्नुपर्ने आवश्यकता प्रति जोड दिए ।
नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य कोवित कुमार श्रेष्ठले व्यवसायीले व्यवसायलाई राम्रो सँग संचालन गर्न सकेको खण्डमा मात्र राज्यलाई कर बुझाउन सक्ने बताए । देशको अन्यौलताका कारण उद्योगी व्यापारीहरु अगाडि बढ्न नसकेको उनको भनाई थियो । लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकालले पोखरा उद्योग बाणिज्य संघले सम्पूर्ण व्यवसायीको हित हुने गरी सुदृढ खालको नेतृत्व गर्न सके विश्वास बढ्दै जाने बताए ।
पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराईले आफुहरु उद्योग बाणिज्य संघको साथमा रहेको जानकारी गराए । उनले धेरै बोल्नुभन्दा पनि काम गरेर देखाउने बेला आएको बताए । चुनौतीलाई चिर्दै आफ्नो व्यवसायलाई माथि उठाउनुको विकल्प नभएको भनाई उनको थियो । सबैलाई स्वागत गर्दै पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष दामु अधिकारीले कोभिड १९ का कारण ३३ औं महाधिवेशन भर्चुअल माध्यमले गरिएको जानकारी गराए । उनले कोरोनाविरुद्धको खोपलाई नेपालमा ल्याई नागरिकको जीवनरक्षा प्रति संवेदनशील बन्न सरकारलाई आग्रह गरेका छन् । अधिकारीले आफू पोखरा उद्योग बाणिज्य संघको निर्वतमान अध्यक्ष भइसकेपछि पनि सँधै नीजि क्षेत्रको हकहितका लागि समर्पित रहिरहने प्रतिबद्धता व्यक्त गरे । समुद्धघाटन कार्यक्रममा लक्ष्मी हाउस विद्या पदकबाट बीबीएस र बीबीए अध्ययन गर्ने छात्र र छात्रालाई पुरस्कार वितरण गरिएको छ । छात्र तर्फ पोखरा ९ लाग्राण्डी इन्टरनेशनलमा अध्ययनरत दिक्सन लिम्बु र छात्रा तर्फ छोरेपाटन अवस्थित गुप्तेश्वर महादेव गुफामा अध्ययनरत सुप्रिया ढकाललाई पुरस्कार वितरण गरियो । उनीहरुलाई प्रतिव्यक्ति नगद १५ हजार, प्रमाणपत्र र मेडल सहित सम्मान गरिएको थियो । यस्तै, उत्कृष्ट पीसीसीआई एक्सीलेन्सी अवार्ड २०७७ बाट वाणिज्य तर्फ विनायक फ्रेस हाउसका संचालक कैलाश पालिखे र उद्योग तर्फ गण्डकी मेशिनरी प्रोडक्टसका युवराज शर्मा सम्मानित भए ।

प्रतिकृया दिनुहोस्