Pokharapatra National Daily

महिला आत्मनिर्भरता स्थानीय सरकारको सफलताः राजदूत भोल्क

-वालिङ
नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसिटी भोल्कले महिलालाई सक्षम बनाई आत्मनिर्भरतातर्फ उन्मुख गराउन सकेमात्रै स्थानीय सरकारको सफलता देखिने बताउनुभएको छ ।
स्याङ्जाको वालिङ नगरपालिकाले मंगलबार आयोजना गरेको कार्यक्रममा राजदूत भोल्कले महिलालाई सक्षम बनाउने खालका कार्यक्रम अगाडि सारेर आर्थिक उपार्जनसँगै आत्मनिर्भरतातर्फ जोड्नुपर्ने उल्लेख गर्नुभयो । अष्ट्रेलिया सरकारले नेपालका विभिन्न स्थानीय तहसँगको सहकार्यमा सञ्चालित कार्यक्रम सफल हुँदै गएको उहाँको भनाइ थियो । आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिँदै जाने राजदूत भोल्कले धारणा व्यक्त गर्नुभयो । नागरिकलाई समृद्ध बनाउन विचार तथा कार्यगत योजनाको एकापसमा अनुभव तर सिकाइ आदानप्रदान हुन आवश्यक रहेको राजदूत भोल्कले बताउनुभयो । नेपालका स्थानीय तहले गरेका असल अभ्यासलाई अष्ट्रेलियामा र उताका अभ्यासलाई नेपालमा लागू गर्न सकिने उहाँको धारणा थियो । यसप्रकारका भेटघाटले सिकाइ अनुभव आदानप्रदान तथा सम्बन्धलाई दीगो बनाउन टेवा पुग्ने नगर प्रमुख कृष्ण खाणले विश्वास व्यक्त गर्नुभयो । वालिङ नगरपालिका र दि एशिया फाउण्डेशन, अष्ट्रेलियबीच सम्झौता भई विगत वर्षदेखि नै सहकार्य हुँदै आएकोमा खुसी व्यक्त गर्नुहुँदै उहाँले आगामी दिनमा पनि निरन्तरताको अपेक्षा राख्नुभयो । वालिङ नगरपालिका र अष्ट्रेलियाका स्थानीय तहसँग भगिनी सम्बन्ध स्थापित गरी निरन्तर सिकाइ अभ्यास आदान प्रदानका लागि वालिङ नगरपालिका तयार रहेको उपप्रमुख कविता तिवारी गैहे्रले बताउनुभयो । राजदूत भोल्कले वालिङ नगरपालिकाले सञ्चालन गरेको इनोभेशन सेन्टर, सरसफाइ केन्द्रलगायतको अवलोकन गर्नुभएको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्