Pokharapatra National Daily

फुडमाण्डुको सेवा पोखरामा, खानामा ३० प्रतिशत छुट

फुडमाण्डुले पोखरामा पनि आफ्नो सेवा विस्तार गरेको छ । नेपालको पहिलो फुड डेलिभरी कम्पनी फुडमाण्डुले काठमाडांैमा आफ्नो सेवा विस्तार गरेको १० औं वर्षगाँठको अवसरमा पोखरामा पहिलो सेवा विस्तार गरेको हो ।
उक्त कम्पनीले हाल १० जना कर्मचारीबाट सेवा संचालन गरेको बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा फुडमाण्डुका म्यानेजिङ डाइरेक्टर मनोहर अधिकारीले बताए । गुणस्तरिय खानेकुराहरु अनलाइन मार्फत घरमा नै उपलब्ध गराउने उद्देश्यले फुडमाण्डुले पोखरामा बिहीबार देखि नै सेवा संचालन गरेको फुडमाण्डुका म्यानेजिङ डाइरेक्टर मनोहर अधिकारीले बताए ।
यही जनवरी ३१ तारिखसम्म कम्पनीले पोखरेलीहरुको लागि ३० प्रतिशत वा ३ सयसम्मको छुट दिने घोषणा गरेको छ । विभिन्न प्रकारका रेष्टुरेन्टमा बन्ने विभिन्न परिकार ग्राहकले अनलाइनमार्फत, फोन तथा याप मार्फत समेत अर्डर गर्ने सक्नेछन् । उनले भने ‘पोखरामा हामीले हाल सानो संरचनाबाट यसको सेवा सुरु गरेका छौं, हाल स्थानिय ३० वटा होटल तथा रेष्टुरेण्टहरुसंगको सहकार्य भएको छ ।’ बजार मुल्यमै आफुहरुले पोखराको लेकसाइड पेरी फेरी करिब ७ किलोमिटर टाडाको दुरीसम्म खानेकुराको होम डेलीभरी (घरमै सेवा) दिने भएको म्यानेजिङ डाइरेक्टर अधिकारीले बताए ।
कम्पनीले काठमाण्डौंमा ६ सय वटा होटल तथा रेष्टुरेण्टहरुसंगको सहकार्य गरेको छ भने १ सय ६० जना काठमाडौंमा र पोखरामा ७ जना राइडर मार्फत सेवा संचालन गर्दै आएको कम्पनीका सेल्स एण्ड मार्केटिङ चिफ श्यामरत्न मालीले बताए । कोरोनाको कहरका वेला अनलाइन बिजनेश निकै फष्टाएकोले गर्दा पहिलो सेवा विस्तार गर्ने क्रममा पोखराबाटै सुरु भएको उनले बताए । कम्पनीले काठमाडौंमा सुरु गर्दा ४ जनाबाट सुरु गरेको थियो । कम्पनीले विभिन्न होटल तथा रेष्टुरेण्टहरुसंग विभिन्न खानाको परिकार खरिदमा २० प्रतिशत मुनाफा मात्र लिएर ग्राहक समक्ष सेवा दिदैं आएको छ । रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले काठमाडौंको उक्त कम्पनी पोखरामा आएर सेवा दिनुले पोखराको होटल तथा रेष्टुरेण्टहरुको कारोवार बढ्ने विश्वास व्यक्त गरे । सेवा विस्तार गर्दा खानेकुरालाई मध्यनजर गरी बस्तु र वातावरण तथा दुरीलाई विशेष ख्याल गर्न उनले कम्पनीलाई सल्लाह दिए ।

प्रतिकृया दिनुहोस्