Pokharapatra National Daily

अष्ट्रेलियाली राजदुतद्वारा हरियोखर्क अस्पताललाई अक्सिजन प्लाण्ट हस्तान्तरण

अष्ट्रेलियाली राजदुत फेलिसीटी भोल्क, गण्डकी प्रदेश स्वास्थ्य सचिव डा श्रीराम तिवारी र आईएनएफ नेपालका अध्यक्ष रामचन्द्र तिमोथीले पोखरास्थित हरियोखर्क अस्पतालमा स्थापना गरिएको अक्सिजन प्लाण्टको संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
सो प्लाण्ट अष्ट्रेलियाली सरकारले, आईएनएफ नेपालसंगको सहकार्यमा एक करोड चौध लाख रुपयाँको लागतमा स्थापना गरिएको हो । दुईवटा प्लाण्ट जडित सो प्लाण्टमा सामान्य तथा आपत्कालीन अवस्थामा विश्वसनीय रुपमा पाँच क्युविक मिटर प्रति घण्टाको दरले मेडीकल अक्सिजन उत्पादन गर्नेछ । आपतकालीन अवस्थामा दुबै प्लाण्टको प्रयोगले अक्सिजनको उत्पादन दोब्बर गर्न सकिन्छ ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राजदुत भोल्कले भन्नुभयो, ‘यो अक्सिजन प्लाण्टको हस्तान्तरण नेपालमा आईएनएफको स्थापनाको सत्तरी वर्षको उत्सव संगै भईरहेको छ । आईएनएफले नेपालका ग्रामिण समुदायमा स्वास्थ्य सेवा प्रदान गर्ने, जीविकोपार्जनमा सहयोग प्रदान गर्ने र सामाजिक समावेशीतालाई प्रवर्धन गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।’ उहाँले अगाडी भन्नुभयो, ‘कोभिड–१९ महामारीले स्वास्थ्य प्रणालीमा धेरै चाप परेको हामीले देखेका छौ । अष्ट्रेलियाली सरकारको कोभिड–१९ डेभलपमेण्ट रेस्पोन्स प्लान अन्तर्गत स्थापित सो प्लाण्टले अस्पतालको स्वास्थ्य सेवा सबल बनाउने छ र यो अष्ट्रेलिया र नेपालको छ दशक भन्दा लामो मित्रताको प्रतिकको रुपमा रहनेछ ।’
कार्यक्रमका सभापति एवम् आईएनएफ नेपालका अध्यक्ष रामचन्द्र तिमोथीले अक्सिजन प्लाण्टका लागि राजदुत भोल्क लगायतलाई आभार प्रकट गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश स्वास्थ्य सचिव डा श्रीराम तिवारीले प्रदेश सरकार आईएनएफ नेपाल हरियोखर्क अस्पतालसँग सहकार्य गरी अघि बद्ने प्रतिवद्दता व्यक्त गर्नुभएको थियो ।
उद्घाटन कार्यक्रममा पोखरा महानगरपालिका वडा नं १५ का अध्यक्ष तोरण बानियाँ, आईएनएफ नेपालका कार्यकारी निर्देशक कृष्ण अधिकारी र अस्पताल निर्देशक डा अरुण कुमार बुढा लगायतको उपस्थिती रहेको थियो । अतिथी लगायतले अक्सिजन प्लाण्ट उद्घाटन अघि हरियोखर्क अस्पतालको अवलोकन गर्नुभएको थियो ।
सामुदायिक स्वास्थ्य र विकासका क्षेत्रमा आईएनएफ नेपालले बाजुरा, मुगु, जुम्ला, कालीकोट, सुर्खेत, बाँके, दाङ, रोल्पा, कपिलवस्तु, कास्की, लमजुङ र गोरखा जिल्लाहरुमा सेवा प्रदान गर्दै आइरहेको छ । आइएनएफले यस वर्ष संस्था स्थापनाको ७० औं वार्षिकोत्सव विभिन्न कार्यक्रमहरू गरि मनाइरहेको छ ।

प्रतिकृया दिनुहोस्