Pokharapatra National Daily

संसद फर्काउन तीन महिना भन्दा बढी लाग्दैन ः योगेश भट्टराई

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवानेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले पौष ५ गते भंग गरेको संसद फर्काउन तीन महिना भन्दा बढी नलाग्ने बताएका छन् ।
प्रचण्ड माधव समुह नेकपा कास्कीले विहिबार पोखरामा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भट्टराईले २०१७ सालको संसदलाई फर्काउन ३० वर्ष लागे पनि ओलीले गरेको संसद विघटनलाई फर्काउन त्यति समय नलाग्ने बताए । उनले २०६० र ६१ सालको संसद फर्काउन तीन वर्ष लागेको स्मरण गराए । प्रधानमन्त्री ओलीले अहिले गरेको संसद विघटन कुनै पनि हालतमा आगमी तीन महिनाभित्र फर्काएर छाड्ने चेतावनी भट्टराईको छ । उनले आफूसँग आधार भएर नै संसद फिर्ता हुने विषयमा बोलेको बताए । उनले प्रतिनिधिसभाको विकल्प हुँदाहुँदै ओलीले सर्वसत्तावाद लादेको आरोप लगाए । विकल्पको ख्याल नै नगरी पार्टीको विधान विपरित अंसवैधानिक तरिकाले संसद विघटन गरेको उनको आरोप छ । भट्टराईले पार्टी केन्द्रिय कमीटीले आजसम्म प्रधानमन्त्रीलाई राजीनामा दिन नभनेको जानकारी गराए । उनले भने,‘भोली भन्छ वा भन्दैन त्यो थाहा छैन । तर आजको मितिसम्म प्रधानमन्त्री ओलीको राजीनामा केन्द्रिय कमीटीबाट मागियो भन्ने कुरा निराधार छ ।’ उनले प्रचण्ड माधवले ओलीलाई पटकपटक साथ दिएको समेत स्मरण गराए ।
ओलीले सरकार एकलौटी रुपमा चलाउन खोजेको आरोप भट्टराईको छ । पार्टीमा छलफल नै नगरी बजेट पेश गर्ने र नीति निर्माण गर्ने गरेको उनको भनाई छ । पार्टीका थुपै्र प्रतिनिधि सभा, राष्ट्रिय सभाका सदस्यहरुले नीति तथा कार्यक्रमको विषयमा आलोचनात्मक टिप्पणी गर्दा पनि प्रधानमन्त्री ओली मुकदर्शक बनेको उनले बताए । म नै कानुन हो भन्ने मनशायले ओली लाग्दा समस्या आएको भट्टराईले उल्लेख गरे । उनले ओलीले संसद विघटन गरेर सिङ्गो बस्तीमा आगो लगाएको आरोप लगाएका छन् । ओली आफ्नै पार्टीलाई तहसनहस गर्ने बाटोमा लागेको बुझाई उनको छ । ओलीले घरभित्रकै दाजुभाईलाई दुश्मनको जस्तो व्यवहार गर्दा वर्तमान अवस्था आएको भट्टराईले बताए । उनले केपी ओलीको अंसैवधानिक व्यावहारको विषयमा थाहा हुँदाहुँदै पनि समर्थन गर्नेलाई ‘भैंसी किन्दा पाढो उपहार’ को संज्ञा दिएका छन् । उनले भनेका छन्, ‘केही साथीहरु कता भीड बढी छ । कता पन्चे बाजा बजेको छ । कता भोज खान पाइन्छ । कता नियुक्त पाइन्छ । कता भैंसी किन्दा पाढो उपहार जस्तो केन्द्रिय समितिमा ठाउँ पाइन्छ भनेर लाग्नुभएको छ । यस्तो प्रकारको राजनीतिले आफैलाई घात पुग्छ । सचेत हुनुहोस् ।’ उनले कम्युनिष्ट पार्टी विचार र सिद्धान्तको पार्टी भएको उल्लेख गरेका छन् । प्रधानमन्त्रीको उन्माद र अतिवादी सोचका कारणले भोलीको परिणाम ओलीको पक्षमा नआउने जिकिर उनको छ । अहिलेको घटनाले सिङ्गो मुलुकको बरबादी हुने भन्दै भट्टराईले प्रधानमन्त्रीलाई फर्कन आग्रह गरेका छन् । उनले भनेका छन्, ‘समय धेरै बितेको छैन, प्रधानमन्त्रीज्यु फर्किनुस् । यदि तपाई अर्को दुई वर्ष तीन वर्ष पछि फर्किन चाहनुभयो भने समयले तपाईलाई साथ दिदैन ।’
इरानको बादशाहको उदाहरण दिँदै भट्टराईले ओलीलाई भने, ‘इरानको बादशाह जति बेला जनताको आन्दोलनबाट लखेटिए । अमेरिका पुगेपछि उनले भने ‘जतिबेला सम्म म देशमा थिए मैले देश बुझिन्, जतिबेला मैले देश बुझे म आफ्नो देशमा थिइन् ।’ त्यसैले स्मरण रहोस् प्रधानमन्त्रीज्यु,‘जतिबेला सम्म तपाई पार्टीमा हुनुभयो पार्टी बुझ्नुभएन, जतिबेला तपाईले पार्टी बुझ्नुहुनेछ त्यतिबेला तपाईसँग पार्टी हुनेछैन ।’ त्यसकारणले फर्किनुस् ।
भट्टराईले दुई जना बाहेक २०४६ सालदेखि आजसम्म भएका दर्जनौं महान्यायधिवत्ताहरु मध्ये कुनै एउटा महान्यायधिवत्ता पनि प्रधानमन्त्रीको पक्षमा नरहेको जानकारी गराए । उनले भने, ‘सर्वोच्च अदालतका सबैभन्दा धेरै नाम चलेका पूर्वप्रधानन्याधिसहरु पनि प्रधानमन्त्री ओलीको पक्षमा छैनन् । नेकपाका आजसम्मका अध्यक्षहरु एउटा पनि प्रधानमन्त्री ओलीको पक्षमा छैनन् । आजसम्मका महान्यायधिवत्ताहरु समेत ओलीले असंवैधानिक रुपमा गरेको संसद विघटनको विरोध गरिरहेका छन् ।’
निर्वाचन आयोगलाई भट्टराईले राजनीतिक दलसम्बन्धि ऐनको दफा ४४ पल्टाएर हेर्न आग्रह गरेका छन् । प्रतिनिधिसभा, संघीय संसदले पास गरेको ऐनमा विवाद भएको बखत सम्बन्धित दलमा कायम रहेको केन्द्रिय समितिको बहुमत सदस्यका आधारमा त्यो पार्टीको नाम, झण्डा र चुनाव चिन्ह त्यहि दलले प्राप्त गर्छ भनि स्पष्ट उल्लेख गरेको उनले स्मरण गराए । उनले पार्टीको नाम,झण्डा र चुनाव चिन्ह कसैले आँखा लगाउँदैमा नपाउने दाबी गरे ।
फेरि एकपट कम्युनिष्ट आन्दोलनलाई सही दिशामा पुर्नगठन गर्ने बेला आएको भट्टराईको भनाई छ । उनले अब कहिलै पनि धोका नहुने गरी कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउनुपर्ने धारणा राखे । शक्तिका उन्मातहरु डस्न आए पनि नडगमगाई पार्टीको हितमा काम गर्न उनले सबैलाई आग्रह गरेका छन् । नेकपा नेता देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली अर्कै बाटोमा हिँडेको बताए । उनले भने,“कसैले पनि कुनै प्रकारको निर्णय गरेर अप्ठेरोमा पार्र्दानपार्दै प्रधानमन्त्री ओलीले अर्कै बाटो लिनुभएको छ ।” ओलीको विचार दृष्टिकोण फरक भएको उनको भनाई छ । पौडेलले आफुहरु सुशासन समृद्धि र स्थायी सरकारको परिकल्पनाको पक्षमा रहेता पनि प्रधानमन्त्रीले त्यसलाई कुल्चिएर एकलौटी रुपमा अंसवैधानिक तरिकाले संसद विघटन गरेको बताए ।
प्रधानमन्त्री ओलीका कारण नेकपाले गरेका प्रतिबद्धता धरापमा परेको पौडेलको भनाई थियो । पौडेलले नेकपाको अस्तित्वलाई जोगाउन अब सबैले संकल्प गर्नुपर्ने बताए । कास्कीले कम्युनिष्ट आन्दोलनको इतिहास बोकेको भन्दै परिवर्तनको बाटोमा अब सबै एकजुट भएर लाग्नुको विकल्प नभएको पौडेलले बताएका छन् । प्रधानमन्त्री ओलीलाई प्रचण्ड र माधव नेपालले हमेशा साथ दिएको उल्लेख गर्दै अनावश्यक आरोप लगाउनुको तुक नभएको पौडेलको भनाई छ । उनले बैशाखमा कुनैपनि हालतमा चुनाव नहुने बताएका छन् । उनले भनेका छन्, ‘बैशाखमा चुनावमा कसरी हुन्छ हामी पनि हेरौला । संविधान भन्दा माथि कोहि पनि छैन ।’ प्रधानमन्त्री ओलीको कुकर्मको प्रर्दाफाश आफूहरुले गरि छाड्ने चेतावनी उनले दिएका छन् ।

प्रतिकृया दिनुहोस्