Pokharapatra National Daily

१७ औँ असारे रोपाइँ महोत्सवमा आत्मनिर्भर कृषिमा जोड

पोखरा पर्यटन परिषद्को आयोजना एवं देवीस्थान सेवा समाज पोखरा–२५ हेमजाको स्थानीय आयोजना र नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा आयोजित १७ औँ असारे रोपाइँ महोत्सवमा आत्मनिर्भर कृषिमा जोड दिइएको छ ।
पोखरा–२५ हेमजामा आयोजित महोत्सवका सहभागीले नेपाल कृषि प्रधान मुलुक भए पनि आत्मनिर्भर हुन नसक्नु चुनौतीको विषय भएको बताउँदै कृषिको आधुनिकीकरणमार्फत उत्पादन बढाउनेतर्फ लाग्नुपर्ने उल्लेख गरे । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले कृषिमा आत्मनिर्भर बन्ने गरी उत्पादन र उत्पादकत्व बढाउनु अहिलेको आवश्यकता भएको बताउनुभयो । कृषिको आधुनिकीकरण गर्दै यसलाई व्यावसायिक बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । रोपाइँ महोत्सव कार्यक्रम संयोजक पोमनारायण श्रेष्ठले कृषिप्रतिको आकर्षणलाई बढाउँदै यसलाई पर्यटनसँग पनि जोड्नुपर्छ भन्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको बताउनुभयो । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले असार १५ को रोपाइँ महोत्सवलाई निरन्तर सञ्चालन गर्दै १७ औँ संस्करणसम्म आइपुग्दा यसप्रतिको आकर्षण बढ्दै गएको बताउनुभयो ।
कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारी, पोखरा–२५ का वडाध्यक्ष मोतिलाल तिमल्सिना, पोखरा पर्यटन परिषद्का महासचिव रामचन्द्र शर्मा, चूडामणि तिमल्सिनालगायतले रोपाइँ महोत्सवले कृषिप्रतिको आकर्षण बढाउँदै उत्पादन र उत्पादकत्व वृद्धिका माध्यमबाट कृषिमा आत्मनिर्भर बन्न प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो । उक्त अवसरमा असारे रोपाइँसँग सम्बन्धित हिले दौडलगायतका विभिन्न प्रतियोगिता गरिएको थियो ।

प्रतिकृया दिनुहोस्