Pokharapatra National Daily

हरिनास गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान

स्याङ्जाको हरिनास गाउँपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुलाई पोखरामा शनिवार बधाई तथा सम्मान गरिएको छ ।
चित्रेभञ्ज्याङ पोखरा सम्पर्क मञ्च पोखरा र क्याक्मेली समाज पोखराले संयुक्तरुपमा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा पालिकाकी उपाध्यक्ष इन्द्रकुमारी थापा रानाले पार्टी, राजनीति र नाताबादबाट टाढा रहेर कसैलाई काखा, कसैलाई पाखा नगरी शासक नभई सेवक बनेर काम गर्ने बताइन । उनले आफू अहिले वडा वडामा गएर राय सुझाव लिएको त्यसै अनुरुप योजना तयार गर्ने पनि बताइन । शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, यातायात साथै बिकासका योजनामा आफुहरुले विशेष जोड दिने पनि बताइन । सोही कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष तथा पालिकका प्रवक्ता ओमप्रकाश सिग्देलले युवालाई आवश्यक रोजगारमुलक कृषिमा प्राविधिक शिक्षाको व्यवस्था गर्ने बताए । पूर्वाधारको विकासले मात्र मानविय विकास नहुने भन्दै महिला, उधमशिलता, युवा स्वरोजगार, शिक्षा, खेलकुद र कृषिलाई पनि सँगसँगै लिएर अगाडि बढे मात्र मानविय विकास हुनुको साथै समाज पनि अगाडि बढ्नेमा उनले जोड दिए । उनले विकासका पूर्वाधार लगायत कार्यक्रममा पालिकाका सबै कामको पारदर्शिताका साथ काम गर्ने बताए । कार्यक्रममा ७ वटा वडामध्ये वडा १ का इन्द्रबहादुर गुरुङ, वडा २ का चित्रबहादुर थापा, वडा नं. ५ का निर्मल लम्साल, वडा नं. ६ का दिलबहादुर रानाले आफ्नो भावी कार्यक्रम तथा योजनाको बारेमा जानकारी गराएका थिए । गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धर भने अस्वस्थ भएका कारण उपस्थित भएका थिएनन् । उक्त कार्यक्रममा पोखरा विश्वविद्यालयका उपप्रशासक टोलमाया थापाले नवनिर्वाचित पदाधिकारीले पालिकामा योजना तर्जुमा गर्दा सबैको राय सुझावका अधारमा गर्नुपर्ने सुझाब दिएकी थिइन । कार्यपालिका सदस्य उजेली नेपाली लगायतले आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रममा उपस्थित जनसमुदायहरुले पालिकाको योजना तथा कार्यक्रमको बारेमा आफ्नो जिज्ञासाहरु राखेका थिए ।
उक्त कार्यक्रमको अध्यक्षता चित्रेभञ्ज्याङ पोखरा सम्पर्क मञ्च पोखराका अध्यक्ष क्या. नरेश थापाको अध्यक्षतामा भएको थियो भने क्याक्मेली समाज पोखराका अध्यक्ष ईश्वर बहादुर आलेले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको संचालन सहसचिव रुद्र सन्देश थापाले गरेका थिए ।

प्रतिकृया दिनुहोस्