Pokharapatra National Daily

विमान दुर्घटनामा परेका २१ जनाको शव भेटियो

तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएका २१ जनाको शव भेटिएको छ ।
मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार बिहान भएको तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएकाहरु मध्ये सोमबार बेलुकासम्म २१ जनाको शव भेटिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । उनका अनुसार विमान परिचालिका किस्मी थापा अझै वेपक्ता भएकी छन् ।
एक जनाको शव भिरमा अड्केको अबस्थामा भेटिएको छ भने बाँकी २० जनाको शव संकलन गरिएको प्रजिअ शर्माले जनाए । उक्त विमान दुर्घटनामा परी मुत्यु भएकाहरु मध्य १० जनाको शव काठमाण्डौं लगिएको छ भने १० जनाको शव पोखरा ल्याइएको छ । प्रतिकूल मौसमका कारण मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार भएको तारा एयरको जहाज दुर्घटनामा परी चालक दलका २ सहित २१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । नेपाली सेनाको एमआई १७ नामक हेलिकप्टर अहिले शव ल्याउन प्रयोग भएको थियो । आवश्यक व्यवस्थापनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, सचिव महेश्वर न्यौपाने सहितको टोली बिहानदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटाएका थिए । समुन्द्री सतहदेखि चार हजार मिटरभन्दा बढी उचाइमा र हुस्सु लागेको तथा पानी परेको कारण आइतबार दुर्घटना स्थलमा हेलिकोप्टर पुग्न नसकेको अधिकारीलेहरु बताए । मानापाथी हिमालको फेदीमा रहेको पहाडमा जहाज ठोक्किएर टुक्राटुक्रा परेको अवस्थामा यार्सा गुम्बा संकलन गर्न गएका स्थानियले प्रहरलिाई खबर गरेर मात्र सोमबार बिहान दुर्घटना भएको स्थानको पहिचान भएको हो ।
पोखराबाट आइतबार बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी कलसाइन भएको उक्त विमान बिहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्क विच्छेद भएको थियो । जहाजमा चालक दलका तीनजना सदस्य, १२ जना नेपाली, चार जना भारतीय र दुईजना जर्मनी नागरिकसहित २२ जना सवार थिए । यसैबिच उक्त विमान दुर्घटनामा परी एकै परिवारका ७ जनाको ज्यान गएको छ । एकै परिवारका ७ जनाको जहाज दुर्घटनामा मृत्यु भएपछि धनुषाको मिथिला नगरपालिका यति वेला शोकमा डुबेको छ ।
उक्त विमान दुर्घटनामा परी ज्यान जानेहरुमा मिथिला नगरपालिका ११ का राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेका छन्। उनीहरु मुक्तिनाथ दर्शनका लागि पोखराबाट तारा एयरको जहाजबाट आइतबार बिहान जोमसोम तर्फ लागेका थिए ।

प्रतिकृया दिनुहोस्