Pokharapatra National Daily

पुतलीबजारद्धारा पाँच दर्जन बढि योजना माग

प्रकाश डोटेल, स्याङ्जा जेठ १३
स्याङ्जा सदरमुकामको पुतलीबजार नगरपालिकाले प्राथमिकताका आधारमा गण्डकी प्रदेश सरकारसँग ५ दर्जन बढि योजनाहरु माग गरेको छ । नगरपालिकाको श्रोतले थेग्न नसक्ने र अत्यावश्यक भएका योजनाहरु प्रदेश सरकारसँग माग गरिएको हो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री मार्फत विषयगत मन्त्रालयसँग झण्डै ५ दर्जन योजनाहरु माग गरिएको छ । आर्थिक वर्ष २०७९÷०८० को बजेट तयारीमा रहेको प्रदेश सरकारसँग काँग्रेस स्याङ्जाका सभापति तथा संविधानसभा सदस्य राजु थापा, नगर प्रमुख तुलसीराम रेग्मी र उपप्रमुख देबी अर्यालको नेतृत्वमा गएको टोलीले योजनाहरु माग गरेको छ । “भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयसँग सबै भन्दा बढि योजना माग गरिएको छ ।” नगरप्रमुख रेग्मीले भने, “उर्जा जलश्रोत तथा खानेपानी, शिक्षा तथा सामाजिक विकास र युवा खेलकुद मन्त्रालयसँग उत्तिकै संख्यामा योजनाहरु माग गरिएको छ ।” नगर प्रमुख रेग्मीका अनुसार नगरपालिकाले माग गरेका योजनाहरु तत्काल सम्बोधन गर्ने प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले प्रतिबद्धता जनाएका छन् । श्रोतका आधारमा नगरबाटै संचालन हुने योजनाहरु निर्माण गर्न पुतलीबजार नगरपालिकाले प्रक्रिया अगाडी बढाएको छ ।
आर्थिक वर्ष २०७९÷८० को बजेट तयारीमा रहेको नगरपालिकाले लागतका आधारमा ठूला योजनाहरु संघीय र प्रदेश सरकारसँग माग गरेको छ । भौतिक पूर्वाधार मन्त्रालयसँग ग्रामीण सडकको स्तरउन्नतीदेखि स्वास्थ्य केन्द्र भवन निर्माणको योजनाहरु समाबेश गरी माग गरिएको छ । उर्जा जलश्रोत तथा खानेपानी मन्त्रालयसँग स्याङ्जा बजारको खानेपानी व्यवस्थित गर्नेदेखि बडहरे, बहाकोट, पातलेखर्क, मायाटारी, छोरेखोला, गौडेबजार, धोबादी खानेपानी र आँधीखोला, बाडखोला तथा अरौदीखोला तटबन्धन गर्ने योजनाहरु माग गरिएको टोलीमा सहभागि काँग्रेस स्याङ्जाका युवा नेता मनोज मल्लले जानकारी दिए ।
युवा तथा खेलकुद मन्त्रालयसँग रजस्थल, खल्लुबोट, बेलबास, पेल्काचौर, तारेभित्ता र गैयामा खेलकुद मैदान निर्माण तथा स्तरउन्नती गर्न माग गरिएको छ । शिक्षा तथा सामाजिक विकास मन्त्रालयसँग बडहरे बतासे, रोकाहा कुलमन्दिर, मनकामना, कुनाखेत, सेनबंशको मन्दिर निर्माण गर्न मागरिएको छ भने नेवारखोला, मदर्शा, भुजेल, तारेभित्ता, खसआर्य संग्राहलय र सामुदायिक भवन निर्माण गर्न बजेट माग गरिएको छ ।
नगरमा समाबेशि तथा समानुपातिक आधारमा तथा जनसहभागितामा विकासलाई अगाडी बढाउन लागेको नगर उपप्रमुख देबी अर्यालले बताईन् । उनका अनुसार नगरका सबै क्षेत्र, वर्ग र समुदायको समुचित विकास गर्नु नगरपालिकाको पहिलो प्राथकितामा रहेको छ । शहर केन्द्रित विकासलाई ग्रामीण भेगमा पु¥याउन आवश्यक रहेको समेत उपप्रमुख अर्यालले बताईन् ।
स्थानीय तह निर्वाचनपछि निर्वाचित नगर प्रमुख र उपप्रमुखले नगरको विकासमा देखाएको सक्रियताले स्थानीयहरु हर्षित भएका छन् । नेपाली काँग्रेसको नेतृत्वमा नगरपालिकामा नयाँ नेतृत्व आएसँगै मृगौला विरामीको डाइलाईसिस सेवा विस्तार, ब्लड बैंक स्थापना गर्ने र बृद्ध भत्ता घरघरमा पु¥याउने निर्णयले उनीहरु हर्षित भएका हुन् ।

प्रतिकृया दिनुहोस्