Pokharapatra National Daily

बानियाँको निर्णयः सार्वजनिक जग्गाको संरक्षण, आधारभूत विद्यालयको विकास

पोखरा महानगरपालिका वडा नं –१५ का नव निर्वाचित अध्यक्ष तथा सदस्यहरुको पदस्थापना कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।
गत बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा वडा नं – १५ बाट निर्वाचित नेकपा एमालेको तर्फबाट अध्यक्ष तोरण बहादुर बानियाँ, खुल्ला सदस्यहरु आशिष भण्डारी, वलराम पौडेल, महिला सदस्य सेतिमाया गुरुङ र दलित महिला सदस्य मन्दिरा परियारको पदस्थापना गरिएको हो । पदस्थापना कार्यक्रम पश्चात आयोजित निवर्तमान जनप्रतिनिधिहरुको विदाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित वडा अध्यक्ष तोरण बहादुर बानियाँले मतदान गरेर आफूहरुलाई निर्वाचित गराउने सम्पूर्ण वडावासीलाई धन्यबाद दिए । उनले पदस्थापनाको पहिलो दिन दुई वटा निर्णय गरिएको बताउँदै पहिलो वडामा रहेका सार्वजनिक जग्गाहरुको वास्तविक लगत निकाली अधिकरण भएका जग्गालाई संरक्षण गर्ने र दोस्रो वडामा रहेका विभिन्न शिशु स्याहार केन्द्रलाई आवश्यकता हेरेर आधारभूत विद्यालयको रुपमा विकास गर्ने बताए । बानियाँले वडा नं. १५ लाई हाम्रो वडा, राम्रो वडा र सु–व्यवस्थित नागरिक बसेको वडा बनाउन मन, वचन र कर्मले लाग्ने बताए । यसका लागि वडावासीको साथ र सहयोगको खाँचो रहने उल्लेख गरे । उनले जनतासँग घरदैलोमा गरिएका प्रतिवद्धतालाई आवश्यकता र औचित्यका आधारमा एकपछि अर्को गर्दै पूरा गर्ने बताए ।
निर्वाचित भएपछि आफू शासक नभएर जनताको सेवक भएको बताउँदै वडाको विकासका लागि यहाँका सम्पूर्ण राजनीतिक दलहरु, वुद्धिजिबी र समाजसेवीसँग राय सुझाव लिँदै अगाडि बढ्ने प्रतिक्रिया दिए । उनले राजनीतिक पूर्वाग्रह नराखी खबरदारी गर्न पनि आग्रह गरे । कार्यक्रममा वडा नं. १५ का टोल विकास संस्था, आमा समुह, समाजसेवी तथा राजनीतिक दलका नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्