Pokharapatra National Daily

भारत र नेपालबीचको सम्बन्ध हिमालझैँ अटल छः प्रम मोदी

२५६६औँ बुद्धजयन्तीको विशेष समारोहमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नेपालबीचको सम्बन्ध हिमालझैँ अटल रहेको बताउँदै दुवै देशले विज्ञान, प्रविधि र पूर्वाधार विकासका खातिर काँधमा काँध मिलाएर काम गर्ने प्रशस्त अवसर रहेका उल्लेख गर्नुभयो ।
भारत र नेपालबीचको समान रीतिरिवाज, परम्परा, संस्कृति र सामाजिक संरचनाले दुवै देशका जनतालाई एकापसमा जोडेको उल्लेख गर्दै प्रधानमन्त्री मोदीले नेपलासँगको सम्बन्धलाई अझ सुदृढ तुल्याउन आफू कृतसङ्कल्प रहेको बताउनुभयो ।
बुद्ध उपदेशका अंशलाई आफ्नो मन्तव्यमा बेलाबेलामा समावेश गर्नुभएका प्रधानमन्त्रीप्रति प्रशंसा व्यक्त गर्दै दर्शकदीर्घाबाट तालीको गद्गदाहतले सभाभवन गुञ्जायमान भएको थियो । बुद्धका पवित्र पाइला परेका तथा उहाँको जीवन र शिक्षाका स्थलहरूको बाटो नै बौद्ध परिपथ हो । विश्व सम्पदास्थलका रूपमा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले विश्व सम्पदामा राखेका भारतका गया, नालन्दा, वैशाली, पूर्वी चम्पारण, भागलपुर तथा नेपालका ऐतिहासिक बौद्धस्थल, बौद्धनाथ, स्वयम्भूनाथ, कपन गुम्बा, पोखरा र लुम्बिनी बौद्ध परिपथबाट जोडिनेछन् । बौद्ध सम्प्रदायबीच अन्तरराष्ट्रिय सम्बन्ध विस्तार तथा विश्व शान्तिमा योगदान गर्ने बौद्ध परिपथको परिकल्पना गरिएको सन्दर्भमा त्यसलाई विकास गर्ने चाहना प्रधानमन्त्री मोदीले व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री मोदीले नेपाल र भारतको मैत्री विश्वमै अतुलनीय रहेको चर्चा गर्दै दुवै देशका जनताले एकअर्कालाई असीम शब्दका साथ व्यवहार गर्ने गरेका बताउनुभयो । उहाँले नेपाल आउँदा र विशेषगरी पशुपतिनाथ, मुक्तिनाथ, जनकपुरधाम र लुम्बिनीमा आफूलाई छुट्टै आध्यात्मिक अनुभूति हुने गरेको बताउनुभयो । उहाँले पटकपटक भगवान् बद्धको पवित्र जन्मस्थल नेपालको प्रशंसा गर्दै सगरमाथाको देश संसारका अनेकौँ मठमन्दिर र पवित्र स्थलले सधैँ पावन रहेको उल्लेख गर्नुभयो । नेपालको आर्थिक एवं व्यापारिक विकासमा टेवा पु¥याउन भैरहवामा एकीकृत जाँच चौकी निर्माण गरिने घोषणा गर्नाका साथै बौद्ध परिपथको विकास दुवै देशको साझा परियोजना हुने जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्