Pokharapatra National Daily

मतदान केन्द्रमा काम सुरु

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कास्की जिल्लाका सबै मतदान केन्द्रमा निर्वाचनका काम सुरु भएको छ ।
सबै मतदान केन्द्रमा निर्वाचनका सामग्रीसहित कर्मचारी पुगिसकेको र निर्वाचन प्रक्रियाका तयारीका काम सुरु भइसकेको प्रदेश निर्वाचन कार्यालय पोखरा सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुभयो । मतदान केन्द्रमा मतदानका लागि आवश्यक तयारीसँगै अधिकांश केन्द्रमा मंगलबार निर्वाचनलाई निष्पक्ष, भयरहित बनाउन सर्वदलीय बैठक सम्पन्न भएको उहाँले बताउनुभयो । कास्की जिल्लामा पोखरा महानगरपालिकासहित चारवटा गाउँपालिका मादी, अन्नपूर्ण, माछापुच्छ र रुपा रहेका छन् । जिल्लामा सुरक्षाकर्मीबाहेक एक हजार ६८० कर्मचारी र एक हजार आठ स्वयंसेवक परिचालन गरिएको प्रदेश निर्वाचन कार्यालय पोखरा प्रमुख हुमनाथ पराजुलीले जानकारी दिनुभयो ।
कास्कीमा १५० मतदानस्थल र ३३६ मतदान केन्द्र रहेको जानकारी दिँदै प्रमुख पराजुलीले निर्वाचनलाई निष्पक्ष, भयरहित बनाउन सबै किसिमको तयारी गरिएको बताउनुभयो ।
निर्वाचनका लागि मङ्गलबार राति १२ बजेदेखि मौनअवधि सुरु भएकाले मंगलबार दलका प्रचारप्रसार कार्यक्रम नहुँदा सहर र गाउँका बस्ती सुनसानजस्तै बनेका छन् । मौनअवधिमा निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गराउनका लागि अनुगमनलाई प्रभावकारी बनाइएको मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले जानकारी दिनुभयो । निर्वाचनका कारण मतदाता घर फर्कन थालेसँगै सहरी क्षेत्र सुनसान बनेको छ भने गाउँहरू भरिन थालेका छन् ।

प्रतिकृया दिनुहोस्