Pokharapatra National Daily

लेकसाइडबाट एमालेको विजयी शुरुवात हुन्छ–कृष्ण थापा

नेकपा एमालेका तर्फबाट पोखरा महानगरपालिकाको मयर पदमा उम्मेदवारी दिनुभएका कृष्ण थापाले एमालेले यसपटक पर्यटकिय क्षेत्र लेकसाइडबाट जितको शुरुवात गर्ने बताउनुभएको छ । नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघले शुक्रबार आयोजना गरेको नेकपा एमाले, पर्यटन तथा उद्योगी व्यवसायीको भेलामा बोल्दै थापाले वडा नम्बर ६ मा एमालेले अध्यक्ष सहित सबै पदमा जित हाँसिल गर्ने दावी गर्नुभयो । पर्यटकिय दृष्टीकोणले नेपालकै महत्वपूर्ण गन्तव्य लेकसाइडमा विकासको ठोस योजना एमालेले ल्याउन सक्ने भन्दै उहाँले एमालेका उम्मेवारहरुलाई मतदान गर्न मतदाताहरुमा आग्रह गर्नुभयो ।
भेलामा बोल्दै नेकपा एमालेका केन्द्रिय सदस्य राजिव पहारीले यसपटक वडा ६ मा अघिल्लो पटक गुमेको अध्यक्ष पद फिर्ता आउने ठोक्कुवा लगाउनुभयो । कार्यक्रममा बोल्दै वडाध्यक्ष पदका उम्मेदवार विष्णुबहादुर भट्टराईले आफु विजयी भएमा कोरोनाबाट थलिएको पर्यटन उद्योगलाई पुर्नजिवन प्रदान गर्ने, पर्यटन व्यवसायीका घरभाडा, बैंक व्याज लगायतका समस्याहरु समाधानका लागि सहकार्य गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो ।
नेकपा एमाले वडा ६ का अध्यक्ष बलराम पहारीको अध्यक्षतामा भएको कार्यक्रममा अग्रज पर्यटन व्यवसायी हरि शर्माले स्वागत तथा सूर्यबहादुर भुजेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
त्यसअघि वडाध्यक्ष भट्टराई सहित सदस्य पदका उम्मेदवारहरु खुल्ला वडा सदस्य दीपेन्द्र पहारी, वासुदेब बराल, महिला सदस्यमा जमुना पराजुली पहारी र राममाया विश्वकर्मा सहितको टोलीलाई पुन समाज बैदामले स्वागत एवं शुभ–कामना कार्यक्रम गरेको थियो । कार्यक्रममा बोल्दै भट्टराईले लेकसाइडका भित्री क्षेत्रमा जनप्रतिनिधीहरुको ध्यान पुग्न नसकेको औल्याउनुभयो । ‘भित्री बाटाहरु जिर्ण बनेका छन्, सडक बत्तिको समस्या छ, तर आफ्नों टिम आएपछि ति समस्याहरु समाधान गर्न तपाईहरुसंग सहकार्य गर्नेछौं’ उहाँले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्