Pokharapatra National Daily

प्रचण्डलाई पोखरेलको चुनौती– हिम्मत छ भने कांग्रेस प्रवेश गर्नुस्

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई कांग्रेस प्रवेश गर्न चुनौती दिनुभएको छ ।
माओवादी केन्द्रले स्थानीय चुनावको घोषणा पत्र ल्याउन नसकेको भन्दै पोखरेलले उक्त चुनौती दिनुभएको हो । ‘माओवादी घोषणा पत्र जारी गर्न सक्दैन, पुष्पकमल दाहाल जी, हिम्मत छ भने कांग्रेस प्रवेश गर्नुस्,’ उनले भने, ‘राष्ट्रिय राजनीति अलमल्याउने काम नगर्नुस् ।’
वैशाख ३० मा हुने स्थानीय निर्वाचन सामान्य निर्वाचन नभएर लडाइँ भएको पोखरेलले बताए । उक्त लडाइँ एमालेलाई जित्नैपर्ने अवस्था रहेको पोखरेलको भनाई छ । ‘यो निर्वाचन सामान्य निर्वाचन होइन । यो लडाइँ हो,’ उनले भने, ‘यो लडाइँको नेतृत्व एकातिर केपी ओली र अर्कोतिर गठबन्धनकारी शक्ति खडा भएका छन् । यो लडाइँ एमालेले जित्नुपर्छ ।’ एमालेले मुलुकमा राजनीतिक स्थायित्व, आर्थिक विकास र समृद्धिको वकालत गर्ने भएकाले चुनाव जित्नुपर्ने उनको धारणा छ । एमालेका उम्मेदवारका विषयमा समिक्षा हुन सक्ने भन्दै उनले निर्वाचन सकिएपछि छलफल हुन सक्ने बताए । एमालेले पोखरा महानगर स्तरीय घोषणा पत्र सार्वजनिक कार्यक्रममा बोल्दै पोखरेलले घोषणा पत्र अक्षरंश पालना हुने दाबी गरे ।
उपमहासचिव पृथ्वीसुब्बा गुरुङले गठबन्धन अहिलेको लडाईँ सत्ता गठबन्धनको विरुद्धमा रहेको उल्लेख गर्दै गठबन्धनको सरकार बनेपछि देशमा वेथिति मैलाउँदै गएको आरोप लगाए । गुरुङले विगतका मनमुटाव बिर्सेर एकतावद्ध भएर लाग्न आग्रह गरे । उनले पोखरा महानगरका ३३ वटै वडामा एमालेले झण्डा फहराउने समेत दावी गरे । कार्यक्रममा बोल्दै मेयरका उम्मेदवार कृष्ण थापाले पोखरालाई अन्तर्राष्ट्रिय सहरको रुपमा विकास गर्ने बताए । थापाले आफूले २० देखि २५ हजारको मतान्तरले चुनाव जित्ने दाबी गर्दै विजयी भए पश्चात प्राप्त हुने सबै सेवा सुविधा नागरिकका लागि खर्च गर्ने प्रतिबद्धता जनाए । उनले अब चुनाव नलडने बताउँदै यो नै आफ्नो अन्तिम चुनाव भएको उल्लेख गरे । उपमेयरका उम्मेदबार मञ्जुदेवी गुरुङले ५ बर्ष सम्म नागरिकप्रति कटिबद्ध रहेर आफूले गरेको कार्य सम्पादनको मुल्यांकन गरी पार्टीले पुनः जिम्मेबारी दिएकाले बाँकी रहेका कामहरुलाई पूरा गर्ने बताइन् ।
५ बर्षको अवधिमा महानगरमा शिक्षा, स्वास्थ र सामाजिक क्षेत्रमा उल्लेखनीय काम भएको पनि उनले सुनाइन् । पार्टीको घोषणापत्रलाई अक्षरस पालना गर्ने समेत गुरुङले प्रतिवद्धता व्यक्त गरिन् ।
एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङलगायतका नेताहरुको उपस्थितिमा पोखराका मेयरको उम्मेदवार कृष्ण थापा नेतृत्वको टिमको घोषणापत्र सार्वजनिक गरिएको हो । सो अवसरमा महानगरका ३३ वटै वडाका जनप्रतिनिधिहरुको परिचय गराइएको थियो ।

प्रतिकृया दिनुहोस्