Pokharapatra National Daily

समुन्नत पोखरा गठबन्धनको साझा लक्ष्य

स्थानीय निर्वाचनका लागि संयुक्तरूपमा निर्वाचनमा प्रस्तुत भएको पाँच दलीय गठबन्धनले समुन्नत पोखरा निर्माणलाई साझा लक्ष्यका रूपमा अघि सारेको छ ।
बिहीबार पोखरामा आयोजित पाँच दलीय गठबन्धनको घोषणापत्र सार्वजनिक कार्यक्रममा गठबन्धनका तर्फबाट महानगर प्रमुख पदका उम्मेदवार एवं नेकपा (एकीकृत समाजवादी पार्टी)का नेता धनराज आचार्यले समुन्नत पोखराका लागि आफूहरूले प्रमुख सात प्रस्थान विन्दु तय गरेको बताउनुभयो ।
‘समुन्नत पोखराको आधार ः सबल अर्थतन्त्र र पूर्वाधार’ भन्ने मूल उद्देश्यका साथ शिक्षित, सभ्य तथा मर्यादित महानगरवासी, सुरक्षित र न्यायपूर्ण समाज, स्वास्थ्य र सन्तुलित पर्यावरण, सुशासन र जवाफदेहिता, स्रोतको समुचित व्यवस्थापन, प्रविधिमैत्री सेवा प्रवाह समुन्नत पोखराका प्रमुख प्रस्थान विन्दु रहेको बताउनुभयो । शिक्षा, स्वास्थ्य, उद्यमशीलता, रोजगार तथा मानव संशाधन विकास, पूर्वाधार, पर्यटन, खेलकूद, शहरी स्वच्छता, नगरीय सुशासन, कृषि आफूहरूको प्राथमिकतामा रहेको उहाँले बताउनुभयो ।
महानगरपालिकामा गठबन्धनका तर्फबाट उपप्रमुखका उम्मेदवार एवं नेपाली कांगे्रसकी नेत्री कोपिला रानाभाटले गठबन्धन लोकतन्त्र, समृद्धि र विकासका लागि राष्ट्रिय आवश्यकता भएको बताउँदै समुन्नत पोखराको चाहनालाई पूरा गर्न आफूहरू चुनावी प्रतिस्पर्धामा आएको स्पष्ट पार्नुभयो । महानगरवासीको सेवामा आगामी पाँच वर्ष समर्पित गर्ने प्रतिबद्धतासहित निर्वाचनमा होमिएको बताउँदै उहाँले विकाससँगै न्याय, सुशासनलगायतका क्षेत्रमा जनताले अनुभूति गर्नेगरी काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिकृया दिनुहोस्