Pokharapatra National Daily

चुनावी गतिविधि बढाउँदै दलहरू

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कास्कीमा क्रियाशील राजनीतिक दलहरूले चुनावी गतिविधिलाई तीव्रता दिएका छन् । निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गरेसँगै दलहरूको चुनावी अभियानले गति लिएको हो ।
भूगोलका हिसाबले देशकै ठूलो पोखरा महानगरपालिकासहित पाँचवटा पालिका रहेको कास्कीमा नेपाली कांग्रेससहितको पाँचदलीय गठबन्धन, नेकपा (एमाले)सहित अन्य दल एवम् स्वतन्त्रबाट प्रमुख÷उपप्रमुख, वडा अध्यक्ष एवम् सदस्यसहित कूल एक हजार ४९१ जनाको उम्मेदवारी परेको छ । निर्वाचनबाट कूल ३७० जना जनप्रतिनिधि जिल्लामा निर्वाचित हुनेछन् । उम्मेदवारी मनोनयनसँगै कतिपय स्थानमा गठबन्धन एवम् दलसँग सम्बद्ध नेता तथा कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दिएका कारण उक्त उम्मेदवारी फिर्ता गराउनेतर्फ पनि दलहरूको सक्रियता बढेको छ । उम्मेदवारको अन्तिम नामावली तयार भएपछि १६ गतेदेखि मतदाता भेटघाट एवम् घरदैलो कार्यक्रमलाई अझै सक्रियताका साथ अघि बढ्ने नेताहरू बताउँछन् । कांग्रेसले निर्वाचनको तयारीलाई तीव्रताका साथ अघि बढाएको कांग्रेस गण्डकी प्रदेश सहमहामन्त्री एवम् पोखरा महानगरपालिकाका उपप्रमुखका उम्मेदवार कोपिला रानाभाटले जानकारी दिनुभयो ।
कांग्रेससहितको गठबन्धन चुनावी अभियानमा लागेका कारण गठबन्धन दलसँग छलफल गरी हामी चुनावी कार्यक्रमलाई अघि बढाउन लागेका छौँ”, उहाँले भन्नुभयो, “यही १६ गतेसम्म उम्मेदवारी फिर्ता लिने समय रहेको र निर्वाचन परिचालन समितिले तय गरेअनुसार मतदाता भेटघाट एवम् घरदैलो कार्यक्रम अघि बढ्नेछन् ।” निर्वाचनलाई लक्षित गरी एमालेले आफ्नो तयारी सक्रिय बनाएको एमाले गण्डकी प्रदेश कमिटीका उपसचिव रश्मी आचार्यले जानकारी दिनुभयो । पार्टीले पालिकास्तरमा पार्टीका विभिन्न समितिहरूलाई परिचालन गर्ने उहाँले बताउनुभयो ।
चुनाव प्रचारप्रसारअन्तर्गत घरदैलो, मतदाता शिक्षासँगै एमालेको नेतृत्वमा यस अघि भए गरेका कामबारे मतदातालाई जानकारी गराउने उहाँले जानकारी दिनुभयो । चुनावलाई लक्षित गरी गठबन्धन दलका तर्फबाट घोषणापत्र तयारी गर्ने काम भइरहेको नेकपा (माओवादी केन्द्र) नेता एवम् घोषणापत्र निर्माण समितिका सदस्य विश्वप्रकाश लामिछानेले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्