Pokharapatra National Daily

‘पत्रकार मैत्री कानून बनाउन प्रतिबद्ध छौं’–मन्त्री थापा

नेपाल पत्रकार महासंघ कास्कीले वर्षेनी दिँदै आएको मीना सिर्जनशील समावेशी पत्रकारिता पुरस्कार रविना आलेलाई अर्पण गरिएको छ ।
उहाँलाई २० हजार १ सय ११ रुपैयाँ नगद सहित पुरस्कृत गरिएको हो । नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा महासंघ कास्कीले एक समारोहका बीच उक्त पुरस्कार हस्तान्तरण गर्यो ।
कार्यक्रममा ‘महामारीमा पत्रकारिता’ विषयमा अन्तरक्रिया समेत गरिएको थियो । कार्यक्रममा शुभकामना दिँदै गण्डकी प्रदेश सरकारका कानून,संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले नेपालमा लोकतन्त्र, नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारिताको संस्थागत विकास र श्रमजीवि पत्रकारहरुको हकहितका लागि पत्रकार महासंघले महत्वपूर्ण काम गर्दै आएको बताउनुभयो । उहाँले पत्रकार समाजको चौथो अंग भएकाले सत्य, तथ्य सूचना प्रवाह गर्दै आवाज विहिन जनताका आवाजलाई बुलन्द पार्न पत्रकार संवेदनशील र सक्रिय भएर लाग्नुपर्ने आवश्यकतालाई औंल्याउनुभएको छ ।
मन्त्री थापाले गण्डकी प्रदेश सरकार पत्रकारमैत्री कानून निर्माण गर्न प्रतिबद्ध रहेको जानकारी गराउनुभयो । ‘आम संचार विधेयक विद्यायन समितिमा गएको छ । पत्रकारका विज्ञ साथीहरुसँग छलफल समेत गरिएको अवस्था छ । विधेयकमा देखिएका समस्यालाई संशोधन गर्दै विधेयक ल्याउँछौं । जसले गण्डकीका पत्रकारलाई सहज वातावरण बनाउनेछ ।’, उहाँले भन्नुभयो । मन्त्री थापाले महामारीका कारण समस्यामा परेका मिडियालाई माथि उठाउने गरी नीति निर्माणमा प्रदेश सरकारको ध्यान पुगेको बताउनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश सरकारकी सांसद मीना गुरुङले पत्रकारिता क्षेत्रमा महिलाहरुले भोग्नुपरेको पिँडालाई आत्मसात् गर्दै पुरस्कार स्थापना गरेको जानकारी गराउनुभयो । उहाँले पत्रकारिता क्षेत्रको श्रीवृद्धिका लागि आफु प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले माननीय मीना गुरुङले पत्रकारका समस्यामा मलहम लगाउन पुरस्कार स्थापना गरी हौसला थप्ने काम गरेको प्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले पत्रकार महासंघ कास्कीका पत्रकारहरुको हकहितका लागि साथमा रहेको उल्लेख गर्नुभयो ।
पुरस्कार ग्रहण गर्दै पत्रकार रविना आलेले पुरस्कारले मिडिया क्षेत्रमा नै क्रियाशील हुने प्रेरणा मिलेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिमिल्सिना र त्रिभूवन पौडेलले प्रेस स्वतन्त्रताका कार्यक्रममा केन्द्रित रही पत्रकार महासंघले आफ्ना क्रियाकलापहरुलाई अगाडि बढाएको जानकारी गराउनुभयो । कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी बद्री विनोद प्रतिकले नेपालमा प्रजातन्त्र ल्याउन पत्रकारहरुले गरेको कामको प्रशंसा गर्नुभयो । नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष रविन्द्र बास्तोलाले महासंघ नागरिक अधिकारको पक्षमा लैड्दै आएको अभिव्यक्ति प्रस्तुत गर्नुभयो । पत्रकारको अधिकारको विषयमा आवाज उठाउनुपर्ने आवश्यकतालाई समेत उहाँले जोड गर्नुभएको छ ।
नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष तथा प्रतिभा छनोट समिति संयोजक कुशुम केशव पराजुलीले रविना आलेको विषयमा बोल्नुभएको थियो । आले २०६३ सालदेखि पत्रकारिता क्षेत्रमा सक्रिय हुनुहुन्छ । भिमाद नगरपालिका वडा नं १ मा जन्मनुभएकी आले रेडियो तरङ र हिमदूत पत्रिकामा आबद्ध हुनुहुन्छ । हालै मात्र आलेलाई नेपाल प्रेस युनियन कास्कीको कार्यवाहक अध्यक्षको जिम्मेबारी दिइएको छ । पत्रकार महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिनाले स्वागत गरेको कार्यक्रममा पत्रकार सन्तोष पोखरेलले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्